Butwal Today

बाँदर धपाउन हेरालु, जङ्गली जनावर रोक्न काँडेतार

२५ भाद्र २०८३, बिहीबार
अ+
अ-

पाल्पा । पाल्पासहित पहाडी जिल्लाका ग्रामीण बस्तीमा बाँदर, दुम्सी, बँदेल, मृग, घोरल र जङ्गली खरायोजस्ता वन्यजन्तुले खेतीपातीमा क्षति पु¥याउने क्रम बढ्दो छ ।

जङ्गली जनावरले बालीनाली नष्ट गर्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएको मात्र होइन, कतिपय बस्तीबाट मानिसहरू विस्थापित हुन थालेका छन् । यस्तो समस्याबिच पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाले भने स्थानीय स्तरमै सिर्जनात्मक उपाय अपनाएर कृषकको खेती जोगाउने प्रयास थालेको छ ।

ख्याहामा वडा कार्यालयले विगत केही वर्षदेखि मकै खेतीको मुख्य सिजनमा बाँदर हेर्न हेरालु खटाउँदै आएको छ । साथै, रातको समयमा बारीमा पसेर बालीनाली नष्ट गर्ने बँदेल, दुम्सी, मृग, घोरल र खरायोजस्ता जनावर रोक्न खेती क्षेत्र वरिपरि काडेतारसहितको जालीसमेत लगाइएको छ ।

वडा कार्यालयको यो अभियानले कृषकलाई तत्काल राहत दिनुका साथै स्थानीय तहले कृषि संरक्षणमा अपनाउन सक्ने नमुना अभ्यास प्रस्तुत गरेको छ । अहिले ख्याहामा मकै खेतीको मुख्य सिजन हो । चैत–वैशाखमा रोपिएको मकै फल्ने र दाना लाग्ने अवस्थामा पुगेको छ ।

यही समयमा बाँदर र बदेलको उपद्रो अत्यधिक बढ्ने भएकाले कृषकहरू दिनरात बारीमै बस्नुपर्ने बाध्यतामा थिए । मकै पाक्ने बेलासम्म बाँदरको हुल बारीमा पस्ने, बोट भाँच्ने र दाना लागेका घोगा नष्ट गर्ने समस्या सामान्यजस्तै बनेको थियो ।

कृषकको यही समस्यालाई ध्यानमा राख्दै ख्याहा वडा कार्यालयले २०८० सालदेखि बाँदर हेरालु परिचालन गर्दै आएको छ । यस वर्ष साउन र भदौ महिनाका लागि वडाका विभिन्न क्षेत्रमा नौ जना हेरालु खटाइएको छ ।

धैरेनी, मेयालपानी, रातामाटा, कोटफेरा लगायतका क्षेत्रमा छ जना र जोगीथुम क्षेत्रमा तीन जना गरी हेरालु परिचालन गरिएको वडा कार्यालयले जनाएको छ । हेरालुहरू बिहान ५ बजेदेखि राति ८ बजेसम्म मकैबारी आसपासमै खटिन्छन् ।

बाँदरको समूह देखिनासाथ उनीहरू गुलेली, नक्कली बन्दुक र अन्य आवश्यक सामग्री प्रयोग गरी बाँदर धपाउने गर्छन् । कतिपय अवस्थामा बाँदरको हुल ठुलो सङ्ख्यामा आउने भएकाले स्थानीय कृषक र परिवारका सदस्यहरूले समेत हेरालुलाई सहयोग गर्ने गरेका छन् ।

“बिहानैदेखि साँझसम्म बारीमा बसेर बाँदर धपाउनुपर्ने बाध्यता थियो । अहिले वडा कार्यालयले हेरालु राखेपछि धेरै सहज भएको छ,” स्थानीय हेरालु विष्णुबहादुर सुनारले भने, “हामी तोकिएको क्षेत्रमा नियमित रूपमा निगरानी गर्छौँ । बाँदर देखिएपछि तत्काल धपाउने गरेका छौँ ।”

वडा कार्यालयको यो कार्यक्रमले खेती जोगाउनुका साथै स्थानीयस्तरमै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ । करिब दुई महिनाका लागि हेरालु नियुक्त गरिँदा गाउँकै युवाहरूले मौसमी रोजगारी पाएका छन् । कृषकहरूबिच प्रतिस्पर्धा गराएर बलिया, फुर्तिला र जिम्मेवार व्यक्तिहरू छनोट गरी हेरालुका रूपमा नियुक्त गर्ने गरिएको वडा कार्यालयले जनाएको छ ।

स्थानीय रामप्रसाद न्यौपानेका अनुसार बाँदर हेरालु राखिएपछि मकै खेतीमा हुने क्षति उल्लेख्य रूपमा घटेको छ । “कृषकको बाली जोगिएको छ, गाउँकै मानिसले काम पाएका छन् । यस्तो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनुपर्छ,” उनले भने ।

दिनको समयमा बाँदरबाट हुने क्षति रोक्न हेरालु परिचालन गरिएको छ भने रातको समयमा आउने वन्यजन्तु नियन्त्रणका लागि काडेतार र जाली लगाइएको छ । गत वर्ष वडा कार्यालयले बढी क्षति हुने क्षेत्रमा ७ फिट अग्लो र १६० मिटर लामो काडेतारसहितको जाली निर्माण गरेको थियो । जाली लगाएपछि बँदेल, दुम्सी, मृग, घोरल र जङ्गली खरायोजस्ता जनावर बारीभित्र पस्न नसकेको स्थानीयको भनाइ छ ।

“पहिले रात परेपछि बँदेल, दुम्सी र मृग बारीमा पसेर मकै र अन्य बाली नष्ट गर्थे । अहिले जाली लगाएपछि रातको क्षति रोकिएको छ,” ख्याहा धैरेनीका कृषक शंकरबहादुर सुनारले भने, “वडा कार्यालयको सहयोगले खेती जोगाउन ठुलो राहत मिलेको छ ।”
स्थानीय तिलबहादुर सुनारी मगरका अनुसार ख्याहामा पहिले परिवारका सबै सदस्य पालैपालो बाँदर धपाउन बारीमा बस्नुपर्ने अवस्था थियो । “जेठदेखि भदौसम्म बिहान ४ बजेदेखि राति ८ बजेसम्म बारी कुर्नुपर्थ्यो । अहिले हेरालु खटिएपछि घरपरिवारका सदस्यले अरू काम गर्न पाएका छन्,” उनले भने ।

कृषकहरूले मेयालपानीदेखि आरुखर्कसम्मको क्षेत्रमा पनि काडेतारको जाली विस्तार गर्न माग गरेका छन् । स्थानीयको मागअनुसार चालु आर्थिक वर्षमा थप ५०० मिटर क्षेत्रमा काडेतारसहितको जाली लगाउन बजेट विनियोजन गरिएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

“बाँदर र अन्य वन्यजन्तुका कारण कृषकले खेती गर्नै छाड्ने अवस्था आएको छ । तत्काल राहतका लागि हेरालु परिचालन गरेका छौँ । रातको क्षति रोक्न जाली निर्माणलाई पनि प्राथमिकता दिएका छौँ,” अध्यक्ष पोखरेलले भने, “स्थानीयको आवश्यकता र मागअनुसार कार्यक्रमलाई थप विस्तार गरिनेछ ।”

पहाडी क्षेत्रमा जङ्गली जनावरको समस्या केवल बालीनाली नष्ट हुने विषयमा सीमित छैन । खेतीबाट आम्दानी नहुने र बारम्बार क्षति व्यहोर्नुपर्ने भएपछि धेरै कृषकले जमिन बाँझो छाड्न थालेका छन् । कतिपय परिवार गाउँ छाडेर सहर तथा तराईतर्फ बसाइँ सर्न बाध्य भएका छन् । यसले कृषि उत्पादन घट्नुका साथै ग्रामीण बस्ती नै कमजोर बन्दै गएको छ ।

यस्तो अवस्थामा ख्याहा वडा कार्यालयले अपनाएको बाँदर हेरालु र काडेतार जालीको उपाय स्थानीय कृषकका लागि प्रभावकारी बनेको छ । यो कार्यक्रमले सबै समस्या समाधान नगरे पनि तत्कालीन क्षति घटाउन र कृषकमा खेतीप्रतिको भरोसा कायम राख्न सहयोग गरेको छ ।

वन्यजन्तु व्यवस्थापन, कृषि संरक्षण र स्थानीय रोजगारीलाई जोडेर सञ्चालन गरिएको ख्याहाको यो अभ्यास अन्य स्थानीय तहका लागि पनि उपयोगी नमुना बन्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?