© 2026
रोल्पा । हरितालिका तीज नजिकिँदै गर्दा रोल्पाका सिलाइ–कटाइ व्यवसायीमा भने उत्साह छैन ।
तीजमा नयाँ कपडा पोसाक सिलाउने परम्परा रहे पनि पछिल्लो समय रेडिमेड कपडा र अनलाइन मार्फत कपडा खरिद गर्ने प्रवृत्तिका कारण स्थानीय सिलाइ–कटाइ व्यवसाय प्रभावित हुन थालेका छन् ।
बजारमा कुर्ता, ब्लाउज, साडी तथा पुरुष र महिलाका विभिन्न पोसाक रेडिमेड रूपमा सहजै उपलब्ध हुन थालेका छन् । घरमै बसेर अनलाइनमार्फत कपडा खरिद गर्न सकिने भएपछि ग्राहक सिलाइका लागि व्यवसायी सम्म आउने क्रम घटेको व्यवसायीको भनाइ छ । यसले लामो समयदेखि सीप र श्रममा आधारित व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आर्थिक रूपमा समस्या पर्न थालेको छ ।
सिलाइ–कटाइ व्यवसायमा महिलाको सहभागिता उल्लेख्य रहे पनि व्यवसायको अवस्था भने चुनौतीपूर्ण बन्दै गएको छ । व्यवसाय सञ्चालनका लागि कोठाभाडा, कर, विद्युत्, मेसिन तथा अन्य खर्च व्यहोर्नुपर्ने तर ग्राहक र आम्दानी घट्दै जाँदा व्यवसाय टिकाउन कठिन भएको व्यवसायीले बताएका छन् ।
रोल्पा नगरपालिका–३ खुमेलमा बस्दै आएकी ३८ वर्षीया तिलकुमारी गिरी श्रेष्ठले आफ्नो जीवनमा पढाइ र सीपसँगै संघर्ष गर्दै सिलाइ–कटाइ व्यवसाय गरिरहेकी छन् । पढ्ने इच्छा हुँदाहुँदै पनि पारिवारिक परिस्थितिका कारण त्यो अवसर पूरा हुन नसकेको उनले बताइन् ।
उनले मासिक ३ सय रूपैयाँ तिरेर सिलाइ–कटाइ सीप सिकेकी हुन् । यही पेशा मार्फत अहिले उनले आफ्नो घर खर्च धानेकी छिन् तर पनि उने सोचे जस्तो व्यवसाय फैलिन सकेको छैन । गाउँमा ग्राहकको सङ्ख्या कम हुनुका साथै पारिवारिक र सामाजिक वातावरणका कारण व्यवसायलाई निरन्तरता दिन कठिन भएको उनले बताइन् ।
तिलकुमारीले सानो लगानीबाट सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै आए पनि पछिल्लो समय लिबाङमा सिलाइ–कटाइ व्यवसायीको सङ्ख्या बढेको र रेडिमेड कपडाको बजार विस्तार भएकाले समस्या थपिएको उनले बताइन् ।
“पहिलेको तुलनामा अहिले रेडिमेड कपडा धेरै आउँछ । कुर्ता, ब्लाउजलगायत महिलाका कपडा तथा पुरुषका कपडा पनि रेडिमेड नै पाइन्छ । अनलाइनबाट पनि घरमै सामान आउँछ । त्यसले गर्दा हामीले सिलाइ गरेर बस्ने व्यवसायमा प्रत्यक्ष असर परेको छ,” उनले भनिन् ।
व्यवसाय दर्ता गरेर कर तिर्दै आएका व्यवसायीले अनलाइन तथा खुला रूपमा हुने व्यापारसँग प्रतिस्पर्धा गर्नुपरेको उनले बताइन् । आफूहरूले कोठाभाडा, कर र अन्य खर्च व्यहोर्नुपर्ने भएकाले व्यापार घट्दा समस्या झनै बढेको उनले बताइन् । उनले २०८३ सालको तीजमा विगतको तुलनामा व्यापार झनै प्रभावित हुने अवस्था देखिएको बताइन् ।
माडी गाउँपालिकाकी ४० वर्षीया फर्कमाया बुढामगरले पनि लामो समयदेखि सिलाइ–कटाइ व्यवसाय गर्दै आएकी छन् । घरेलु तथा साना उद्योग कार्यालय रोल्पामा व्यवसाय दर्ता गरेर काम सुरु गरेको बताइन् । व्यवसाय सुरु गर्दा आफूले विभिन्न समस्या सामना गर्नुपरेको उनले बताइन् । आजभोली कोठाभाडा तिर्नसमेत कठिन हुने अवस्था आएको उनले बताइन् ।
दुर्गम गाउँमा सिलाइ–कटाइ गरेर मात्र जीवन चलाउन सजिलो छैन । उनले २०७३ सालमा ३० हजार रूपैयाँ लगानी गरेर ‘सिर्जनशील सिलाइ–कटाइ तथा प्रशिक्षण केन्द्र’ सञ्चालनमा ल्याएको बताइन् ।
व्यवसाय सुरुगर्दाको समयमा बिहान ४ बजेदेखि राति ११ बजेसम्म काम गर्नुपर्ने अवस्था थियो तर अहिले सुनसान छ । परिवर्तन गाउँपालिका–१ कुरेलीकी २५ वर्षीया निर्मला बुढामगर पनि सिलाइ–कटाइ क्षेत्रमा सक्रिय छन् । चार वर्षदेखि सिलाई कटाईलाई व्यवसायको रूपमा काम गर्दै आएकी छन् । तर आफ्नो सिपलाई बजारको रेडिमेट कपडाले खान थालेकोमा चिन्ता छ ।
रोल्पा नगरपालिका–९ लाटाबाङकी २२ वर्षीया प्रमिसा थापाले यो पेशामा लामो समय देखि रमाईरहेकी छन् तर अफुले सोचे जस्तो हुन नसकेकोमा दुखी छन् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मनबहादुर नेपालीले जिल्लामा अहिले २ हजार भन्दा बढी सिलाईकटाइ व्यवसायी रहेको बताए ।
सबै स्थानीय तहमा सिलाइ–कटाइ व्यवसाय विस्तार भएका कारण बजारमा प्रतिस्पर्धा बढेको उनले बताए । चाडपर्वको समयमा केही काम बढे पनि रेडिमेड कपडाको प्रयोगले स्थानीय व्यवसायीलाई समस्या परेको उनले बताए ।
तर बदलिँदो बजार र प्रविधिका कारण परम्परागत सिलाइ–कटाइ व्यवसायले नयाँ चुनौती सामना गरिरहेको छ । रेडिमेड कपडाको सहज उपलब्धता तथा अनलाइन खरिद गर्ने प्रवृत्तिले स्थानीय व्यवसायीको ग्राहक घटाएको उनीहरूको भनाइ छ ।