Butwal Today

सौन्दर्यकरणको जिम्मा पाएको निर्माण कम्पनीले ढिलाइ गर्दा प्रभास ताल ओझेलमा

२० भाद्र २०८३, शनिबार
अ+
अ-

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको किनारामा रहेको तानसेनको प्रभास ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना निर्माण कम्पनीको ढिलाइका कारण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको करिब ३४ रोपनी क्षेत्रफलमा फैलिएको प्रभास तालको सौन्दर्यकरणको काम हालसम्म करिब ६० प्रतिशत मात्रै पूरा भएको छ।

श्रीनगर डाँडाको काखमा रहेको प्रभास ताल वश गोपाल मन्दिर तथा सूर्यकुण्डको नजिकै अवस्थित छ। तालको प्राकृतिक आकर्षणसँगै धार्मिक तथा सांस्कृतिक महत्वसमेत रहेकाले तानसेन नगरपालिकाले यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको हो। छिमेकी मुलुकबाट सिद्धार्थ राजमार्ग हुँदै पोखरा जाने पर्यटकलाई तानसेनमा आकर्षित गर्ने उद्देश्यले तालको सौन्दर्यकरण अघि बढाइएको नगरपालिकाको भनाइ छ। पोखराको फेवातालमा माछापुच्छ्रे हिमालको छाया देखिएझैं प्रभास तालमा श्रीनगर डाँडाको छाया देखिने भएकाले यसको छुट्टै प्राकृतिक विशेषता रहेको स्थानीय जनप्रतिनिधि बताउँछन्।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार पहिलो चरणमा तालको संरक्षण र सौन्दर्यकरण गर्ने तथा दोस्रो चरणमा फेवातालमा जस्तै डुंगा सञ्चालन गर्ने योजना छ। उनका अनुसार प्रभास ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै तानसेनको पर्यटन प्रवद्र्धनमा जोड्ने लक्ष्य नगरपालिकाको छ। तालमा परापूर्वकालदेखि नै सेतो कमलको फूल फुल्ने भएकाले यसलाई कमलपोखरीका रूपमा समेत चिनिने स्थानीय बताउँछन्। तालको किनारामा पदमार्गको ट्र्याक निर्माण भइसकेपछि बिहान तथा साँझ घुमफिर गर्ने स्थानीयको संख्या पनि बढेको छ। तर पदमार्गमा टायल, इँटा बिछ्याउने तथा दुबो लगाउने काम ढिलो हुँदा सर्वसाधारणलाई असहज भएको स्थानीयको गुनासो छ।

स्थानीय पुराना पुस्ताका रुद्रबहादुर पाटा मगरका अनुसार सिद्धार्थ राजमार्ग निर्माणका क्रममा पानी निकासका लागि बनाइएको कल्भर्ट जमिनको सतहभन्दा माथि परेपछि पानीको निकास सहज हुन सकेन। त्यसपछि उक्त क्षेत्र क्रमशः ताल तथा सिमसार क्षेत्रमा परिणत भएको उनको भनाइ छ। प्रभास ताल बनेपछि तत्कालीन जिल्ला विकास समितिले यहाँ डुंगा सञ्चालनको व्यवस्था गरेको थियो। तर स्थानीयले तालको महत्व बुझ्न नसक्दा त्यसबेला गरिएको लगानी प्रभावकारी हुन नसकेको स्थानीय बताउँछन्। पछिल्लो समय नगरपालिकाले माछापालन तथा डुंगा सञ्चालनका लागि स्थानीय युवा उद्यमीलाई जिम्मेवारी दिएपछि पर्यटन गतिविधि विस्तार हुने अपेक्षा गरिएको थियो। तर लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट निस्किएको फोहोरका कारण तालमा रहेका माछा मरेपछि उक्त योजना प्रभावित भएको स्थानीयको भनाइ छ। तालको संरक्षणसँगै वातावरणीय पक्षमा समेत ध्यान दिनुपर्ने उनीहरूको माग छ।

वश गोपाल महादेव मन्दिर र सूर्यकुण्डको आसपास रहेको प्रभास ताल पर्यटनका दृष्टिले मात्रै नभई प्राकृतिक तथा वातावरणीय हिसाबले पनि महत्वपूर्ण रहेको पर्यटन व्यवसायी बताउँछन्। सिमसार क्षेत्रका रूपमा रहेको तालले आसपासको जलस्रोत र वातावरणीय सन्तुलनमा समेत भूमिका खेल्दै आएको उनीहरूको भनाइ छ। प्रभास तालको सौन्दर्यकरणका लागि हिमशृंखला निर्माण कम्पनीले तानसेन नगरपालिकासँग २०८२ साल पुस ४ गते सम्झौता गरेको थियो। २०८३ साल जेठ मसान्तसम्म काम सम्पन्न गर्ने गरी २ करोड ७ लाख ४४ हजार रुपैयाँमा सम्झौता भएको नगरपालिकाका प्रमुख प्राविधिक रामप्रसाद श्रेष्ठले बताए। सम्झौताअनुसार तालको किनारामा टायल तथा इँटा बिछ्याउने, दुबो लगाउने, ताल वरपर तारजाली लगाउने र विभिन्न स्थानमा विद्युतीय बत्ती जडान गर्ने काम गर्नुपर्नेछ।

नगरपालिकाले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरे पनि विभिन्न कारण देखाउँदै काममा ढिलाइ भएको श्रेष्ठले बताए। उनका अनुसार हालसम्म करिब ६० प्रतिशत भौतिक प्रगति भएको छ। तानसेन नगरपालिकाका इन्जिनियर शिव शर्माका अनुसार निर्माण कम्पनीलाई काम पूरा गर्न असोजसम्मको म्याद थप गरिएको छ। यता निर्माण कम्पनीका प्रमुख ऋषिराम अधिकारीले सम्झौता रकम र कामको तुलनामा उपलब्ध समय कम भएको दाबी गरेका छन्। मौसम प्रतिकूल हुनुका साथै दक्ष प्राविधिक जनशक्तिको अभावका कारण काममा ढिलाइ भएको उनको भनाइ छ। थपिएको समयभित्र काम पूरा गर्ने प्रतिबद्धता जनाउँदै अधिकारीले अब मुख्यतः विद्युतीय बत्ती जडानको काम बाँकी रहेको बताए।

प्राकृतिक, धार्मिक र पर्यटकीय तीनै दृष्टिले महत्वपूर्ण प्रभास ताललाई व्यवस्थित गर्न नगरपालिकाले थालेको योजना समयमै पूरा भए तानसेनको पर्यटन प्रवद्र्धनमा नयाँ आकर्षण थपिने अपेक्षा गरिएको छ। तर तालको सौन्दर्यकरणसँगै फोहोर व्यवस्थापन, वातावरण संरक्षण र दीर्घकालीन सञ्चालन योजनालाई पनि प्राथमिकता दिनुपर्ने स्थानीय तथा पर्यटन व्यवसायीको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?