© 2026
भैरहवा । स्थानीय स्तरमै स्वच्छ, स्वस्थ, स्वादिलो तथा घरमा तयार पारिएको जस्तै दिवा खाना र टिफिन सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवामा ‘हाम्रो लन्च बक्स’ सञ्चालनमा आएको छ।
सिद्धार्थनगर नगरपालिका–८, बैङ्क कलोनीमा मुख्य कार्यालय रहेको ‘हाम्रो लन्च बक्स’ले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो सेवा, उद्देश्य तथा आगामी योजनाबारे जानकारी दिएको हो।
व्यस्त विद्यार्थी, कर्मचारी, व्यवसायी तथा परिवारका सदस्यलाई सहज, भरपर्दो र गुणस्तरीय भोजन सेवा उपलब्ध गराउने लक्ष्यसहित संस्था सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन्।
संस्थामा प्रमोद कुमार यादव, अमित कुमार कर्ण, आनन्द कर्ण र राजु पाण्डे साझेदारका रूपमा रहेका छन् भने पङ्कज यादव प्रमुख सल्लाहकार रहेका छन्।
‘हाम्रो लन्च बक्स’ को व्यावसायिक उद्देश्यसँगै महिला सशक्तीकरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ। विशेष गरी महिलामा रहेको खाना पकाउने सीप र दक्षतालाई व्यवसायसँग जोडेर उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको संस्थाका सल्लाहकार पङ्कज यादवले जनाए ।
खाना तयारी, प्याकिङ, गुणस्तर व्यवस्थापन तथा ग्राहक सेवामा महिलाको सहभागिता बढाउँदै स्थानीयस्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने योजना रहेको उनको भनाइ छ।
आगामी दिनमा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्दै थप महिलालाई रोजगारी तथा व्यवसायसँग जोड्ने लक्ष्यसमेत रहेको उनले बताए ।
संस्थाका संचालक आनन्द कर्णले ग्राहकलाई घरमा तयार पारिएको जस्तै स्वच्छ, स्वस्थ, पौष्टिक र सन्तुलित भोजन उपलब्ध गराउने जनाए । विद्यार्थी, कर्मचारी तथा परिवारका सदस्यहरूको आवश्यकता र रुचिअनुसार विभिन्न प्रकारका टिफिन तथा लन्च सेट उपलब्ध गराइने उनले बताए ।
समयमै खाना पुर्याउने, उच्चस्तरीय स्वच्छता कायम गर्ने र ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने संस्थाको योजना रहेको उनले बताए । साथै स्थानीय जनशक्ति तथा स्थानीय कृषि उत्पादनको प्रयोगलाई समेत प्रोत्साहन गरिने जनाइएको छ।
भैरहवाको स्थानीय बजारमा गुणस्तरीय र विश्वसनीय भोजन सेवाको पहिचान स्थापित गर्दै ग्राहकको विश्वास जितेर दीर्घकालीन व्यवसाय निर्माण गर्ने लक्ष्य ‘हाम्रो लन्च बक्स’ले लिएको सञ्चालकहरूले बताए ।