© 2026
सल्यान। सल्यानको ऐतिहासिक सदरमुकाम खलंगा र व्यापारिक केन्द्र श्रीनगरमा नेवार समुदायले धार्मिक तथा सांस्कृतिक महत्वका साथ जनैपूर्णिमाका दिन गाईजात्रा निकालेका छन् । पितृ मुक्ति तथा मृत आत्माको शान्तिको कामना गर्दै वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा शुक्रबार दुवै बजारमा बाजागाजाका साथ गाईजात्रा निकालिएको हो ।
काठमाडौँ उपत्यकामा सामान्यतया जनैपूर्णिमाको भोलिपल्ट प्रतिपदाका दिन गाईजात्रा मनाउने चलन रहे तापनि सल्यानमा भने दशकौँ अघिदेखि जनैपूर्णिमाकै दिन गाईजात्रा निकाल्ने बेग्लै र मौलिक परम्परा रहँदै आएको छ । सल्यानमा दुई दिन जात्रा मनाउने चलन रहेको भन्दै सल्यानी नेवार समाजका अध्यक्ष बिमल श्रेष्ठले शनिबार पनि पर्व मनाइने बताए । मृतकको सम्झनास्वरूप गाईजात्रा निकालेर नेवार समुदायले सदरमुकाम खलंगा बजार परिक्रमा गरेका थिए । यस्तै श्रीनगर बजारमा पनि जात्राको रौनकता थियो । जात्रा अवलोकनका लागि खलंगा र श्रीनगर दुवै बजारमा स्थानीय सर्वसाधारण, व्यापारी तथा जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सदरमुकाम खलंगामा ऐतिहासिक र परम्परागत नियम अनुसार वर्षभरि दिवंगत भएका परिवारको घरबाट छुट्टाछुट्टै जात्रा निकाल्ने चलन छ । यहाँ एक वर्षभित्र परिवारका सदस्यको मृत्यु भएका घरबाट जात्रा निकाल्ने नियम रहि आएको छ । एक वर्षभित्र परिवारका सदस्यको मृत्यु भएको छ भने जजसको घरमा मृत्यु भएको हो, उहाँहरूकै घरघरबाट जात्रा निकाल्ने परम्परा छ,समाजका अध्यक्ष श्रेष्ठले भन्नुभयो, सोही परम्परा अनुसार यस वर्ष खलंगामा एउटा घरको तर्फबाट मात्र जात्रा निकालिएको हो । तर श्रीनगरमा बसोबास गर्ने सम्पूर्ण नेवार समुदायले भने छुट्टाछुट्टै ननिकालेर सामूहिक रूपमा एउटै मात्र मुख्य जात्रा निर्माण गरी बजार परिक्रमा गराउने गर्दछन् ।
व.।सं. १८३५ मा त्यसबेलाका बडाहाकिमसँग व्यापार गर्ने क्रममा काठमाडौं, भक्तपुर, कीर्तिपुर, पाल्पाबाट नेवारहरू सल्यान आएका अगुवाहरु बताउँछन् । नेवारहरुको सदरमुकाममा बस्ती बसेसँगै झन्डै दुई सय वर्ष पहिलेदेखि सल्यानमा गाईजात्रा पर्व मनाउँदै आएको बताइन्छ । मल्लकालीन राजा प्रताप मल्लकी रानीले छोराको मृत्यु भएपछि विलाप गर्न थालेपछि उनको मन शान्त पार्न राजाले गाईजात्रा निकाल्न लगाई गाईजात्रा पर्व मनाउन थालिएको जनविश्वास रहेकै कारण मृतकको आत्माले शान्ति पाओस् भनेर गाईजात्रा पर्व मनाउने धार्मिक तथा परम्परागत विश्वास रहेको छ ।mयो संस्कृतिलाई आधुनिकताको प्रभावका बाबजुद पनि सल्यानमा स्थानीय युवा र पुराना पुस्ता मिलेर निरन्तरता दिँदै आएका छन् ।