Butwal Today

विपद् प्रभावित हरेक नागरिकसम्म राज्य पुग्छ:  प्रधानमन्त्री शाह

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

रक्षा बन्धनको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले कठिन घडीमा विपद् प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका हुन् । उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १५ हजार ४३१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली कोरिडोरलगायत क्षेत्रमा खटिएका छन् ।

हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जना र हवाई माध्यमबाट ५१७ जनाको उद्धार गरिएको छ ।

उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ । धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको र हालसम्म ९९ वटा हवाई उडान भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने कामसमेत तीव्र पारिएको छ । हालसम्म ३२ ट्रक खाद्य तथा गैर खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टरमार्फत थप ६ उडानबाट राहत सामग्री पुर्‍याइएको छ । प्रभावित क्षेत्रमा सञ्चार उपकरणसमेत पठाइएको छ ।

सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई विशेष प्राथमिकता दिइएको छ । रसुवागढी जलविद्युत् केन्द्रलगायत जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी रहेको र आवश्यक विशेष उद्धार उपकरण परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।

बेपत्ता नागरिक तथा शवको खोजी कार्य तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको छ । रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी कोरिडोरमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि पनि विशेष समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको र परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष सञ्चालन गरेको उनले जानकारी दिएका छन् ।

विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको प्रधानमन्त्री शाहको भनाइ छ । भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको उनले स्पष्ट पारेका छन् ।

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको सम्भावित जोखिमलाई निरन्तर निगरानीमा राखिएको छ । जोखिमयुक्त क्षेत्रमा पूर्व सूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको र २ लाखभन्दा बढी एसएमएस अलर्टमार्फत नागरिकलाई पूर्व सूचना दिइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयका लागि गृहमन्त्री स्वयं प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले जानकारी दिएका छन् ।

सडक सम्पर्क पुनः स्थापनामा समेत प्रगति भएको प्रधानमन्त्री शाहले बताएका छन् । वैकल्पिक सडक मार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका छन् भने काठमाडौँ–मुग्लिङ सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

रसुवालाई समेत वैकल्पिक सडकमार्फत सडक सञ्जालमा जोडिएको छ । काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सञ्चालनमा आएको छ । क्षतिग्रस्त पुलमा बाइपास निर्माणको कामसमेत सुरु गरिएको छ ।

प्रभावित क्षेत्रमा खानेपानी, इन्धन तथा सरसफाइको तत्काल व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । नुवाकोटमा चारवटा खानेपानी ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर पठाइएको छ ।

विपद्बाट भएको क्षतिको विस्तृत मूल्याङ्कनसमेत सुरु गरिएको छ । सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनाको क्षति मूल्यांकनका लागि १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ ।

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । ६ वटा अस्पताललाई तयारी अवस्थामा राखिएको र कम्तीमा ५ हजार जनसङ्ख्यालाई लक्षित गरी टेन्ट तथा आपत्कालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।

दूरसञ्चार सेवाको पुनः स्थापनामा पनि प्रगति भएको छ । प्रभावित १९८ टावर तथा साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ वटा साइट सञ्चालनमा आएको जनाइएको छ ।

विद्युत् सेवातर्फ नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ भने धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् ।

राहत, उद्धार तथा पुनः स्थापनाका लागि आर्थिक स्रोतसमेत परिचालन भइरहेको छ । बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको उनले जानकारी दिएका छन् ।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनः स्थापना प्याकेज तयार गर्ने काम अघि बढाइएको छ । साथै, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

राहत, उद्धार तथा पुनः स्थापनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगलाई एकीकृत रूपमा परिचालन गरिएको उनले बताएका छन् । सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी आवश्यक स्रोतसाधन परिचालन भइरहेको छ ।

यसैबिच, नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा प्रधानमन्त्री शाहले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै उनले ढाँटलाई सरकारका तर्फबाट धन्यवादसमेत दिएका छन् ।

प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान अहिले विपद्बाट प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका छन् । प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?