Butwal Today

राहत कोषमा राहत रकम सङ्कलन सुरु 

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

पाल्पा । गत भदौ १० गते बिहान रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङ र चितवनमा ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै पाल्पाका स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न थालेका छन् ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको खोज, उद्धार तथा पुनः स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय तहहरूले राहत रकम उपलब्ध गराउन थालेका हुन् ।

रिब्दीकोट गाउँपालिकाले विपद्को यस घडीमा पीडित परिवारलाई राहत पुर्‍याउने तथा प्रभावित नागरिक र शोकसन्तप्त परिवारप्रति मानवीय सहयोग र ऐक्यबद्धता प्रकट गर्ने उद्देश्यले ३१ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उल्लेख छ ।

यस्तै, प्रत्येक वर्ष हिन्दु महिलाको महान् पर्व तीजका अवसरमा आयोजना हुँदै आएको महिला लक्षित कार्यक्रमअन्तर्गतको तीज विशेष कार्यक्रम स्थगित गरी सोबापतको २ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले बताइन् ।

वगनासकाली गाउँपालिकाले पनि विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनः स्थापनामा सहयोग गर्ने उद्देश्यले विभिन्न निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिकाको बैठकले विपद् व्यवस्थापन कोषबाट २ लाख ५० हजार रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिको मासिक सेवा सुविधाको १० प्रतिशत तथा गाउँपालिकामा कार्यरत कर्मचारीको पाँच दिन बराबरको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले बताए ।

उनका अनुसार बाढीका कारण घाइते भएकाहरूको उपचारका क्रममा रगतको अभाव नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले रक्तदान कार्यक्रमसमेत आयोजना गर्ने भएको छ ।

यसैगरी, रैनादेवी छहरा गाउँपालिकाले बाढीपीडितको राहत, उद्धार तथा पुनर्निर्माणका लागि २ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?