Butwal Today

रसुवाको बाढी पहिरोमा पाल्पाका ७ जना सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

पाल्पा । बुधबार बिहान रसुवाको टिमुरे तथा भोटेकोसी नदी आसपासका क्षेत्रमा आएको आकस्मिक एवं विनाशकारी बाढीका कारण पाल्पाका सात जना परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको खुलेको छ ।

सम्पर्कविहीन भएकाहरूका आफन्तले सामाजिक सञ्जालमार्फत उनीहरूको खोजीका लागि अपिल गरेका छन् ।

सम्पर्कविहीन हुनेमा तानसेन नगरपालिकाको लामडाँडा घर भएकी लाङटाङ राष्ट्रिय निकुञ्जमा वन रक्षक पदमा कार्यरत नीलम कार्की, रिब्दीकोट गाउँपालिका–कुसुमखोलाका रसुवा हाइड्रोपावरमा सुपरभाइजरका रूपमा कार्यरत कृष्ण बस्याल, रैनादेवी छहरा गाउँपालिका–सिद्धेश्वरका सशस्त्र प्रहरीमा कार्यरत अनबहादुर कुमाल, तानसेन नगरपालिका–तेल्घाका नेपाल प्रहरीका सहायक हवल्दार दिपेन्द्र विष्ट र रिब्दीकोट गाउँपालिका–भैरवस्थानका रसुवामा टिप्पर चालक विकास नेपाल रहेका छन् ।

त्यस्तै, रसुवागढी हाइड्रोपावरमा कार्यरत बगनासकाली गाउँपालिकाका किशोर न्यौपाने क्षेत्री पनि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले रसुवा तथा भोटेकोसीमा आएको बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न बिहीबार स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको बताए ।

रसुवा तथा भोटेकोसी क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनाहरू तथा सुरक्षाका विभिन्न निकायमा कार्यरत पाल्पालीहरूको सङ्ख्या ठुलो हुन सक्ने अनुमान गरिए पनि अहिलेसम्म यकिन तथ्याङ्क प्राप्त नभएको उनले बताए । प्रशासनले स्थानीय तह तथा सम्बन्धित निकायबाट थप विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?