Butwal Today

भैरहवामा यसरी मनाइयो मोहम्मद जयन्ती (फोटोफिचर)

१० भाद्र २०८३, बुधबार
अ+
अ-

भैरहवा । इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १ हजार १ सय १ औँ जन्मदिन भैरहवामा भव्य रूपमा मनाइएको छ । यस पटक भैरहवावासीले खुलेर मोहम्मद जयन्ती मनाएका हुन् ।

१ हजार १ सय १ औँ मोहम्मद जयन्तीका अवसरमा भैरहवाका सडकहरू झण्डाले रङ्गिएका छन् । पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भव्य ¥यालीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको हो । इस्लाम धर्मका अन्तिम सन्देशवाहकका रूपमा मानिने मोहम्मदको जन्मदिन मुस्लिम धर्मावलम्बीहरूले विशेष रूपमा मनाउने गर्छन् । सोही अवसरमा भैरहवामा भव्य ¥याली निकालिएको छ ।

यस क्षेत्रका विभिन्न मस्जिद, मदरसा, मुस्लिम संघ–संगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरूको आयोजनामा मिलनचोकबाट सुरु भएको ¥याली बुद्धचोक हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

¥यालीमा सिद्धार्थनगर नगरपालिकाभित्रका दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, भैरहवा बजारलगायत चैनपुर, बसन्तपुर र बेनीपुर क्षेत्रका मुस्लिम समुदायको सहभागिता रहेको थियो ।

यस पटकको मोहम्मद जयन्तीमा स्थानीय प्रशासनसँगै मुस्लिम समुदायका विभिन्न संघसंस्थाका स्वयंसेवकहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । ¥याली तथा कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवकहरू परिचालन गरिएको थियो ।

मोहम्मद जयन्ती समारोह समितिका अध्यक्ष इस्तियाक अहमदले हजरत मोहम्मदले मेलमिलाप र एकताको सन्देश फैलाएको बताए । सबै मिलेर एकजुट हुनुपर्ने, धर्मका नाममा भेदभाव गर्न नहुने र सबै धर्म समान रहेको सन्देश मोहम्मदले दिएको उनले बताए ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत्को रबिउल अव्वल महिनाको १२ तारिखका दिन साउदी अरबको मक्का सहरमा बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट भएको धार्मिक मान्यता छ । सोही दिनको स्मरणमा विश्वभरका मुस्लिम समुदायले विभिन्न कार्यक्रम आयोजना गरी मोहम्मद जयन्ती मनाउने गर्छन् ।

मोहम्मदको जन्मदिनको खुसीयालीमा मुस्लिम समुदायले यस पर्वलाई ‘जश्ने ईद मिलादुन्नबी’ अर्थात् रबिउल अव्वलका रूपमा मनाउने गर्छन् । यस अवसरमा विभिन्न नात–ए–शरिफ, प्रवचन तथा मोहम्मदको जीवनी वाचन गर्ने गरिन्छ । साथै, उनका उपदेश र वाणीको स्मरण गर्दै धार्मिक तथा सामाजिक कार्यक्रमसमेत आयोजना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?