© 2026
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ लाहापेका ३ सय घरधुरीमा खानेपानीका धारा जडान भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयका घरघरमै धारा पुगेपछि दैनिक जीवनयापन सहज हुने भएको हो ।
लाहापे क्षेत्रमा खानेपानीको सहज पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजना अन्तर्गत ३ सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको हो । घरमै धारा आएपछि पानीका लागि टाढाटाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।
यसअघि लाहापे क्षेत्रका बासिन्दाले खानेपानीका लागि प्राकृतिक मुहान, कुवा तथा अन्य परम्परागत स्रोतमा निर्भर हुनुपर्ने अवस्था थियो । विशेष गरी सुख्खा मौसममा पानीका स्रोत सुक्दै जाँदा स्थानीयलाई खानेपानीको जोहो गर्न निकै कठिन हुने गरेको थियो ।
घरायसी प्रयोजनदेखि पशुचौपाया तथा सरसफाइका लागि समेत पर्याप्त पानी नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानी आयोजना सञ्चालन भएपछि भने स्थानीयको वर्षौँदेखिको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
घरघरमा धारा जडान भएपछि पानी लिनका लागि घण्टौं समय खर्च गर्नुपर्ने अवस्था हट्ने र बचत भएको समय अन्य उत्पादनमूलक काममा लगाउन सकिने स्थानीयको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीको १ करोड ६३ लाख रूपैयाँ लागतमा लाहापे क्षेत्रमा खानेपानी आयोजना सञ्चालन गरिएको कार्यालयका प्रमुख राम भरोस यादवले जानकारी दिए ।
उनका अनुसार लाहापे क्षेत्रका बासिन्दालाई स्वच्छ तथा सुरक्षित खानेपानीमा सहज पहुँच पु¥याउने उद्देश्यले आयोजना निर्माण गरिएको हो । खानेपानीको पहुँच विस्तारसँगै स्थानीयको जीवनस्तर सुधार गर्न आयोजनाले महत्त्वपूर्ण योगदान पु¥याउने उनको भनाइ छ ।
“लाहापे क्षेत्रका स्थानीयलाई खानेपानीको सहज पहुँच पु¥याउने उद्देश्यले आयोजना सञ्चालन गरिएको हो । अहिले ३ सय घरधुरीमा धारा जडान भएको छ,” कार्यालय प्रमुख यादवले भने ।
खानेपानीको पहुँच विस्तारलाई स्थानीयवासीले विकासको महत्त्वपूर्ण आधारका रूपमा लिएका छन् । ग्रामीण क्षेत्रमा सडक, विद्युत् र सञ्चारसँगै स्वच्छ खानेपानीको पहुँचलाई पनि आधारभूत विकासका रूपमा हेर्ने गरिन्छ ।
घरमै खानेपानीको सुविधा पुगेपछि विशेष गरी महिला तथा बालबालिकाले पानी बोक्न खर्चिनुपर्ने समय घट्ने भएकाले यसको प्रत्यक्ष लाभ उनीहरूले पाउनेछन् । पानी लिन टाढा जानुपर्ने बाध्यता हुँदा महिलाहरूले बिहानैदेखि पानीको जोहो गर्नुपर्ने अवस्था थियो ।
पानी बोक्नुपर्ने जिम्मेवारीका कारण घरायसी काम, बालबालिकाको हेरचाह तथा आयआर्जनका गतिविधिमा समेत असर पर्ने गरेको थियो । अब घरमै धारा जडान भएपछि उनीहरूको समय र श्रम बचत हुने अपेक्षा गरिएको छ ।
आयोजनाको उद्घाटन लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए । प्रदेश सरकारको लगानीमा ग्रामीण तथा खानेपानीको समस्या रहेका क्षेत्रमा आयोजना सञ्चालन हुँदै आएको र त्यसै क्रममा लाहापेमा पनि खानेपानीको सुविधा विस्तार गरिएको हो ।
स्थानीय तहमा खानेपानीको समस्या समाधानका लागि विभिन्न सरकारी निकायले आयोजना सञ्चालन गर्दै आएका छन् । शितगंगा नगरपालिकाका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि खानेपानीको सहज पहुँच पुग्न बाँकी रहेका बस्तीहरू छन् ।
लाहापेमा ३ सय घरधुरीमा धारा जडान हुनु त्यस क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि भएको स्थानीयको भनाइ छ ।
खानेपानी आयोजना सम्पन्न भएसँगै अब यसको नियमित सञ्चालन, मर्मतसम्भार तथा संरक्षणमा उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ ।
खानेपानीको स्रोत र संरचनाको संरक्षण गर्न सकेमा आयोजना दीर्घकालीन रूपमा प्रभावकारी बन्नेछ । स्थानीयले पनि खानेपानीको दिगो व्यवस्थापन र संरचनाको संरक्षणमा आफूहरूको जिम्मेवारी रहने बताएका छन् ।