Butwal Today

पाल्पामा व्यावसायिक बन्दै टिमुर खेती

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

पाल्पा ।

माथागढी गाउँपालिका–कसेनी सिकारकोटका डिलबहादुर विश्वकर्माको मुख्य आम्दानीको श्रोत भनेको कुनै व्यापार व्यवसाय नभएर टिमुर खेती हो । गाउँका वनपाखामा आफैँ उम्रिएका टिमुरका बोट संरक्षण गर्दै सुरु भएको उनको आम्दानी अहिले व्यावसायिक खेतीतर्फ अघि बढेको छ ।

वर्षौँदेखि टिमुरको व्यापार गर्दै आएका विश्वकर्माले गत वर्षदेखि आफ्नो बारीका कान्लाभरि नयाँ टिमुरका बिरुवा रोपेका छन् । ‘आफैँ उम्रिएका बोट संरक्षण गरेर पनि आम्दानी लिन सकिने रहेछ’ उनले भने । अब टिमुरलाई व्यवस्थित खेतीका रूपमा विस्तार गर्न थालेको उनी बताउछन् ।

कुनै समय गाउँमा टिमुरको व्यापार गर्नेहरूलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । तर बजारमा यसको माग बढ्दै गएपछि अवस्था फेरिएको स्थानीय बताउँछन् । टिमुरको व्यापार गर्नेको संख्या बढ्दै गयो र यही कारण गाउँको नामसमेत ‘टिमुरे’ रहन गएको स्थानीयको भनाइ छ ।

स्थानीय मनमाया रानाका अनुसार पहिले टिमुरको व्यापार गर्ने डिलबहादुरलाई होच्याउनेहरू अहिले आफैँ टिमुरको व्यापारमा लागेका छन् । समयसँगै टिमुरको महत्व र मूल्य दुवै बढ्दै गएको उनी बताउँछिन् ।

टिमुरको व्यावसायिक सम्भावना देखेपछि स्थानीय किसानले वनमा मात्र निर्भर हुन छाडेर आफ्नै बारीमा समेत यसको खेती विस्तार गर्न थालेका छन् ।

माथागढीकी टिका दर्लामीले गत वर्ष मात्रै वनमा उत्पादित टिमुरका दाना बिक्री गरेर करिब ५० हजार रुपैयाँ आम्दानी गरिन् । गाउँको सरकारी वन क्षेत्रमा मात्रै ३०–४० वटा वयस्क टिमुरका बोट रहेको र त्यसबाट पाँच घरपरिवारले नियमित आम्दानी गरिरहेको उनी बताउँछिन् ।

दर्लामीले आफ्नै घर वरिपरि करिब २० वटा टिमुरका बोट लगाएकी छन्। ती बोटबाट आगामी दुई वर्षपछि आम्दानी लिन सकिने उनको विश्वास छ ।

टिमुर बिक्री गर्न ठूलो मेहनत गर्न पनि नपर्ने उनको अनुभव छ । हरियो पातको पोको बनाएर बजारमा लैजाँदा न्यूनतम एक सय रुपैयाँमा बिक्री हुने गरेको उनी बताउँछिन् । टिमुरको दाना भने सुकाएर बिक्री गर्ने गरिन्छ ।

माथागढी गाउँपालिका–गोठादीका शेरबहादुर दर्लामीको अनुभव पनि उस्तै छ । उनको आँगनको छेउमा आफैँ उम्रिएका दुईवटा टिमुरका बोटले राम्रो फल दिन्छन् ।

ती दुई बोटबाट प्राप्त टिमुर बिक्री गरेर एक वर्षका लागि मसला, नुन, चिनी र तेलजस्ता घरायसी सामग्री किन्न पुग्ने आम्दानी हुने उनी बताउँछन् । टिमुर बिक्री गर्न टाढाको बजारसम्म जानुपर्ने अवस्था पनि छैन । घरबाटै बिक्री हुने गरेको उनको भनाइ छ ।

‘सानो ठाउँमा आफैँ उम्रिएको दुईवटा बोटले पनि घरखर्चमा यति ठूलो सहयोग गर्छ भने व्यावसायिक रूपमा खेती गर्न सके आम्दानी कति बढ्लारु’ भन्ने प्रश्नले अहिले धेरै किसानलाई टिमुर खेतीतर्फ आकर्षित गरिरहेको छ ।

रिब्दीकोट गाउँपालिका–ढुस्टुङका स्थानीय तारा बगालेका अनुसार गाउँका करिब १० घरपरिवारको जीविकोपार्जनमा टिमुर महत्वपूर्ण आधार बनेको छ । भौगोलिक बनोट र हावापानी टिमुर खेतीका लागि उपयुक्त भएकाले पछिल्लो समय यसलाई व्यावसायिक खेतीका रूपमा अघि बढाउन थालिएको हो ।

टिमुर खेतीमा वन्यजन्तुले खासै क्षति नपुर्‍याउने, धेरै मेहनत नपर्ने र उत्पादनपछि बजार पाउन सहज हुने भएकाले किसानले अन्नबालीको विकल्पका रूपमा समेत यसलाई रोज्न थालेका छन् ।

खेतीयोग्य जमिनमा वन्यजन्तुको प्रभाव बढ्दै गएपछि अन्नबालीबाट हुने उत्पादन घट्न थालेको अवस्थामा टिमुर खेती किसानका लागि वैकल्पिक आम्दानीको स्रोत बन्न थालेको स्थानीय बताउँछन् ।

रिब्दीकोट गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर कार्कीका अनुसार गाउँमा टिमुरको व्यावसायिक खेतीको सम्भावना पहिल्यै देखिएको थियो । करिब सात वर्षअघि वन कार्यालयको सहयोगमा स्थानीयलाई उत्पादनसँग जोड्ने उद्देश्यले १० हजार टिमुरका बिरुवा रोपेर व्यावसायिक खेतीको अभियान सुरु गरिएको थियो ।

गाउँका वनजंगलमा त्यतिबेलै आफैँ उम्रिएका एक सयभन्दा बढी वयस्क टिमुरका बोट थिए । सडक यातायातले गाउँलाई बुटवल र तानसेनसँग जोडेसँगै उत्पादनले बजार पाउन थालेपछि टिमुरको व्यापारबाट जीविका चलाउनेको संख्या पनि बढ्दै गएको कार्की बताउँछन् ।

सडक पहुँच र बजार विस्तारले टिमुरलाई गाउँमै सीमित उत्पादनबाट नगदे बालीका रूपमा विकास गर्ने आधार तयार गरेको छ ।

टिमुर नेपाली भान्सामा मसला मात्र होइन, औषधीय महत्व बोकेको जडीबुटीसमेत हो । आयुर्वेदिक उपचारमा प्रयोग हुने भएकाले यसलाई जडीबुटीका रूपमा समावेश गरिएको छ ।

तानसेनका होटल व्यवसायीहरूका अनुसार टिमुरको प्रयोग दैनिक खानामा मसलाका रूपमा हुँदै आएको छ । यसको स्वाद र औषधीय गुणका कारण पछिल्लो समय बजारमा मागसमेत बढिरहेको छ ।

जिल्ला आयुर्वेदिक अस्पतालका प्रमुख माधवका अनुसार टिमुरको महत्वबारे जति व्याख्या गरे पनि कम हुन्छ । विशेषगरी ग्यास्ट्रिकका दीर्घरोगीले यसको प्रयोग बढाउँदै लगेका छन् । विभिन्न प्रयोजनका लागि प्रयोग बढेकाले यसको बजार मागसमेत विस्तार हुँदै गएको उनी बताउँछन् ।

निस्दी गाउँपालिका–ज्यामिरेका कर्णबहादुर सोती पनि टिमुरको व्यावसायिक खेतीका लागि तयारी अवस्थामा छन् । स्थानीयस्तरमै टिमुरका बिरुवा उत्पादन गर्न कठिन भएकाले उनले बाहिरी जिल्लाबाट ल्याइएका बिरुवाले आफ्नो बारी भरेका छन् ।

उत्पादन भएपछि बजार खोज्न टाढा जानु नपर्ने र पछिल्ला वर्षमा टिमुर नगदे बालीका रूपमा विकास हुन थालेकाले यसको खेतीप्रति आफ्नो आकर्षण बढेको उनी बताउँछन् ।

डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार किसानमा टिमुर खेतीप्रतिको आकर्षण निरन्तर बढिरहेको छ । पाल्पाको भौगोलिक बनोट र हावापानी टिमुर खेतीका लागि अत्यन्तै उपयोगी रहेको उनको भनाइ छ ।

नेपाल सरकारले टिमुरलाई प्राथमिकताप्राप्त ३३ जडीबुटी प्रजातिमध्ये एकका रूपमा राखेको छ । टिमुरसहित १२ जडीबुटी प्रजातिलाई खेती प्रविधि अनुसन्धानका लागि प्राथमिकतामा राखिएपछि पनि किसानको आकर्षण बढेको तामाङ बताउँछन् ।

माथागढी, रिब्दीकोट, तिनाउ, पूर्वखोलाको माथिल्लो भाग, रैनादेवी छहरा र निस्दी गाउँपालिकाका केही क्षेत्रमा टिमुर प्राकृतिक रूपमै पाइन्छ । यहाँ उत्पादनसमेत राम्रो हुने भएकाले डिभिजन वन कार्यालयले विगत तीन वर्षदेखि टिमुरलाई व्यावसायिक खेतीका रूपमा विकास गर्न पहल गरिरहेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठका अनुसार निजी वनमा टिमुर खेती विस्तार हुनुका साथै केही सामुदायिक वनले समेत दिगो आम्दानीका लागि टिमुर रोप्ने अभियान थालेका छन् ।

स्थानीयस्तरमै पर्याप्त बिरुवा उत्पादन गर्न नसकिएपछि पश्चिम नेपालका अन्य जिल्लाबाट बिरुवा ल्याएर किसानलाई वितरण गरिएको छ । पहिलो वर्ष १० हजार बिरुवा वितरण गरिएको थियो भने त्यसपछिको आर्थिक वर्षमा किसानको मागअनुसार २० हजार बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय किसानको मागअनुसार बिरुवा उपलब्ध गराउनसमेत कठिन हुन थालेको सूचना अधिकारी तामाङ बताउँछन् ।

पाल्पाका पहाडी गाउँमा टिमुर अहिले केवल वनमा पाइने जडीबुटी वा भान्सामा प्रयोग हुने मसला मात्र रहेन । यो किसानको आम्दानी, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडिन थालेको छ ।

कम मेहनतमा उत्पादन लिन सकिने, वन्यजन्तुबाट कम क्षति हुने, स्थानीय हावापानी अनुकूल हुने र बजारमा माग बढ्दै जाने भएकाले टिमुर खेतीको सम्भावना ठूलो देखिन्छ ।

स्थानीय सरकार, वन कार्यालय र किसानबीच समन्वय बढाउन सके टिमुरको व्यावसायिक खेतीले गाउँमै रोजगारी सिर्जना गर्न सक्ने स्थानीयको विश्वास छ । उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणलाई व्यवस्थित बनाउन सके टिमुर पाल्पाका पहाडी बस्तीको नयाँ आर्थिक पहिचान बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?