Butwal Today

समयमै मतदाता नामावली अद्यावधिक गर्न पौडेलको आग्रह

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

रोल्पा । जिल्ला निर्वाचन कार्यालय, रोल्पाले नयाँ मतदाता नाम दर्ता, विवरण सच्याउने, नामावली स्थानान्तरण तथा मृत्यु भएका व्यक्तिको नाम हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीप्रसाद खड्का तथा कर्मचारीसँग आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी शिवकुमार पौडेलले नागरिकको मताधिकार सुनिश्चित गर्न मतदाता विवरण समयमै अद्यावधिक गर्न आग्रह गरे ।

उनका अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी योग्य नागरिकले नयाँ नाम दर्ता गर्न, नाम, ठेगाना वा अन्य विवरणमा त्रुटि भए सच्याउन तथा बसाइँ सराइ वा विवाहपछि स्थायी बसोबास परिवर्तन भए नयाँ स्थानमा मतदाता विवरण स्थानान्तरण गर्न सक्नेछन् । आवश्यकताअनुसार मतदान केन्द्रसमेत अद्यावधिक गर्न सकिने उनले बताए ।

मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउन स्थानीय तहले मृत्यु दर्तासम्बन्धी विवरण निर्वाचन कार्यालयलाई उपलब्ध गराउनुपर्ने पौडेलले बताए । स्थानीय तहसँग रहेका मृत्यु दर्ता, बसाइँ सराइ तथा अन्य अभिलेख नियमित रूपमा उपलब्ध गराउँदा मतदाता नामावलीलाई थप शुद्ध र विश्वसनीय बनाउन सकिने उनको भनाइ छ ।

पौडेलका अनुसार रोल्पामा हाल १ लाख ४९ हजार ५९७ मतदाता छन् । तीमध्ये ७४ हजार ९०७ महिला र ७४ हजार ६९० पुरुष रहेका छन् । मतदाताको संख्या ठूलो भएकाले नामावलीमा हुने परिवर्तन नियमित रूपमा अद्यावधिक गर्न आवश्यक रहेको उनले बताए ।

रोल्पा नगरपालिका, त्रिवेणी गाउँपालिका र सुनछहरी गाउँपालिकाले आवश्यक विवरण जिल्ला निर्वाचन कार्यालयमा पठाइसकेका छन् । मृत्यु भएका, बसाइँ सराइ गरेका तथा विवाहपछि स्थायी बसोबास परिवर्तन गरेका व्यक्तिको विवरणसमेत सम्बन्धित पालिकाबाट प्राप्त भएको उनले जानकारी दिए ।

थबाङ, लुङ्ग्री, गंगादेव, माडी, परिवर्तन र रुन्टीगढी गाउँपालिकामा मतदाता नामावली अद्यावधिक गर्ने काम भदौ १५ गतेसम्म गर्न सकिने पौडेलले बताए । नागरिकलाई सेवा लिन सहज बनाउन पालिकाले वडा तहसम्म आवश्यक सूचना पुर्‍याउन तथा सहजीकरण गर्नुपर्ने उनले बताए ।

उनले नागरिकलाई आफ्नो मतदाता नामावलीमा नाम मात्र छ कि छैन भनेर हेर्नुभन्दा नाम, ठेगाना, मतदान केन्द्रलगायत सम्पूर्ण विवरण सही छन् कि छैनन् भनेर जाँच गर्न आग्रह गरे । त्रुटि भएमा समयमै सम्बन्धित निकायमा सम्पर्क गरी सच्याउनुपर्ने उनको भनाइ छ ।

स्थायी बसोबास परिवर्तन गरेपछि पुरानै स्थानमा मतदाता विवरण कायम रहँदा निर्वाचनका बेला समस्या हुन सक्ने भएकाले समयमै नामावली स्थानान्तरण गर्न उनले आग्रह गरे । नयाँ मतदाता बन्न योग्य नागरिकले पनि अभियानमार्फत नाम दर्ता गराउनुपर्ने उनले बताए ।

रोल्पाको भौगोलिक अवस्था र वर्षायामका कारण ग्रामीण क्षेत्रमा सेवा प्रवाहमा चुनौती रहेको पौडेलले बताए । वर्षाका कारण सडक तथा यातायात प्रभावित हुँदा नागरिक र कर्मचारीलाई आवतजावतमा समस्या भए पनि निर्धारित समयभित्र सेवा उपलब्ध गराउन स्थानीय तहले आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने उनले बताए ।

दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकसम्म सूचना पुर्‍याउन वडा कार्यालय, स्थानीय जनप्रतिनिधि र कर्मचारीले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ । मतदाता नामावली अद्यावधिक गर्ने कार्य निर्वाचनको समयमा मात्र नभई बसोबास वा व्यक्तिगत विवरणमा परिवर्तन आएपछि नियमित रूपमा गर्नुपर्ने उनले बताए ।

जिल्ला निर्वाचन कार्यालयले “समयमै मतदाता नामावली अद्यावधिक गरौँ, आफ्नो मताधिकार सुनिश्चित गरौँ” भन्ने सन्देशसहित नागरिकलाई आफ्नो विवरण जाँच गर्न आग्रह गरेको छ । अन्तिम समयसम्म नपर्खी तोकिएको समयभित्र सम्बन्धित पालिकामा पुगेर आवश्यक प्रक्रिया पूरा गर्न पौडेलले आग्रह गरे ।

स्थानीय तह, निर्वाचन कार्यालय र नागरिकबिचको सहकार्यबाट मतदाता नामावलीलाई थप व्यवस्थित, विश्वसनीय र वास्तविक तथ्यमा आधारित बनाउन सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?