© 2026
काठमाडौं । नेपालले विद्युत् निर्यातबाट उल्लेख्य आम्दानी गर्न थालेको छ। आर्थिक वर्ष २०८२/८३ मा भारत र बंगलादेशमा विद्युत् निर्यात गरेर नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्लाई जानकारी दिएका छन्। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नेपालको ऊर्जा प्रणाली तथा विद्युत् सेवा प्रवाहका क्रममा देखिएका समस्याबारे गरेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन्।
भारत र बंगलादेशमा विद्युत् बिक्रीबाट अर्बौँ आम्दानी
मन्त्री श्रेष्ठका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्बभन्दा बढी रुपैयाँ आम्दानी गरेको हो। विद्युत् उत्पादन बढ्दै गएसँगै नेपालले छिमेकी मुलुकको ऊर्जा बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ। सरकारले विद्युत् निर्यातसँगै स्वदेशमा विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने योजना अघि सारेको जनाएको छ।
विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्न काठमाडौं उपत्यका तथा प्रमुख शहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तारको काम अघि बढाइएको मन्त्री श्रेष्ठले बताए। शहरी क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न नयाँ सबस्टेसन निर्माण, प्रसारण तथा वितरण लाइन विस्तार र स्तरोन्नतिको कामलाई समेत तीव्रता दिइएको छ।औद्योगिक क्षेत्रमा भोल्टेजको उतारचढाव कम गरी नियमित विद्युत् उपलब्ध गराउन डेडिकेटेड फिडरसहितका पूर्वाधार निर्माण तथा सुधारका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा जीर्णोद्वारका कामलाई कार्यतालिका बनाएर योजनाबद्ध रूपमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। मर्मतका कारण विद्युत् कटौती गर्नुपर्ने अवस्थामा सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा आधिकारिक माध्यमबाट पूर्वसूचना दिने गरिएको उनको भनाइ छ। आकस्मिक रूपमा विद्युत् अवरुद्ध हुँदा पनि उपभोक्तालाई तत्काल जानकारी दिने प्रणाली थप प्रभावकारी बनाइँदैछ।
सरकारले विद्युत् तथा ऊर्जा क्षेत्रका समस्या तत्काल सम्बोधन गर्न २४ घण्टा सञ्चालन हुने हटलाइनलाई समेत प्रभावकारी बनाएको जनाएको छ। मन्त्री श्रेष्ठका अनुसार ऊर्जा मन्त्रालयको ११५१ हटलाइनमा नयाँ सरकार गठन भएयता ३१ हजार ४९६ वटा गुनासा प्राप्त भई सम्बोधन भएका छन्।त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको ११५० हटलाइन तथा ‘नो लाइट’ सेवामार्फत पनि उपभोक्ताका विद्युत्सम्बन्धी गुनासा सुनुवाइ तथा समाधान हुँदै आएको उनले बताए।
नेपालले विद्युत् निर्यातबाट अर्बौँ रुपैयाँ आम्दानी गर्न थाले पनि स्वदेशमा नियमित आपूर्ति, भोल्टेजको समस्या, प्रसारण पूर्वाधार र वितरण प्रणाली सुधार गर्नुपर्ने चुनौती कायमै छ। सरकारले विद्युत् उत्पादन बढाउनुका साथै प्रसारण तथा वितरण संरचना विस्तार गरी नेपाललाई विद्युत् उत्पादन र निर्यातको केन्द्र बनाउने तथा स्वदेशी उपभोक्तालाई भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य अघि सारेको छ।