Butwal Today

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोबाइलबाटै ओपीडी टिकट लिन सकिने

३ भाद्र २०८३, बुधबार
अ+
अ-

लमही। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि आउने बिरामीले अब घरमै बसेर मोबाइलबाटै ओपीडी टिकट लिन सक्ने भएका छन्। सूचना प्रविधिको प्रयोग गर्दै प्रतिष्ठानले पहिलोपटक अनलाइनमार्फत ओपीडी टिकट लिन सकिने व्यवस्था सुरु गरेको हो। प्रतिष्ठानका उपकुलपति प्रा. डा. अजयकुमार मिश्रले सरकारको सुशासन अभियानलाई साथ दिँदै सूचना प्रविधिको युगलाई व्यवहारमै कार्यान्वयन गरी बिरामीमैत्री स्वास्थ्य सेवा प्रदान गर्नु प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको बताए।

बिरामीको सहजता, समय बचत तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन अनलाइन ओपीडी टिकटको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार बिरामीले गुगल प्ले स्टोर वा एप स्टोरबाट ‘राप्ती एकेडेमी अफ हेल्थ’ वा ‘मेरो डाक्टर’ एप डाउनलोड गरी मोबाइल नम्बर र पासवर्डबाट लगइन गर्न सक्नेछन्। एपमा प्राप्त हुने एकपटक प्रयोग हुने संकेत नम्बर ओटीपी राखेपछि सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

अनलाइन प्रणालीमार्फत बिरामीले नियमित ओपीडी छनोट गरी आफूले उपचार गराउने सेवा, चिकित्सक र उपलब्ध समय रोज्न सक्नेछन्। नयाँ बिरामीले आवश्यक विवरण भर्नुपर्नेछ भने पुराना बिरामीले आफ्नो कार्ड तथा विवरणका आधारमा सेवा लिन सक्नेछन्। मोबाइल नम्बर र ओटीपी प्रयोग गरी बिरामीले आफ्नो विवरण सुरक्षित रूपमा प्रविष्ट गरेर आवश्यक सेवा तथा समय छनोट गरी ओपीडी टिकट लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा.सुरेश रसाइलीले अनलाइन टिकट प्रणाली सुरु भएपछि अस्पतालमा टिकट काट्न लामो समय लाइनमा बस्नुपर्ने बाध्यता कम हुने बताए। डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा थप सहज, छिटो, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले अनलाइन ओपीडी टिकटको व्यवस्था गरिएको उनले बताए। घरमै बसेर ओपीडी टिकट लिन सकिने भएपछि बिरामीको समय बचत हुनुका साथै अस्पतालमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?