© 2026
काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिर जमानी वा तारिखमा राखी अनुसन्धान गर्न सकिने भन्दै थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्चले श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको छ। साथै, उनको घर तथा कार्यालयबाट बरामद गरिएका सबै सामान फिर्ता गर्न पनि आदेश दिएको छ। वैयक्तिक गोपनीयता हननको अभियोगमा श्रेष्ठलाई साउन ३ गते पक्राउ गरिएको थियो। गैरकानुनी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले साउन ५ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
अदालतले सार्वजनिक भएको तस्बिर जाहेरवालाले नै फेसबुकमा पोस्ट गरेको देखिएको र त्यस तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको पनि आदेशमा उल्लेख गरेको छ। साथै, श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक भए पनि तस्बिर प्रकाशित भएको जनआस्था अनलाइनको सम्पादकीय भूमिकामा रहेको नदेखिएको अदालतको ठहर छ।