© 2026
सल्यान। सल्यानको कपुरकोटमा जेठ महिनादेखि १५ शैयाको नवनिर्मित आफ्नै भवनबाट सेवा सुरु गरेको कपुरकोट अस्पतालमा एक्सरे सेवा पनि सञ्चालनमा आएको छ । कपुरकोट गाउँपालिका वडा नं, ३ स्थित कपुरकोट अस्पतालमा रेडियोग्राफर नियुक्त भएसँगै एक्सरे सेवा सञ्चालनमा आएको हो ।जनशक्ति अभावका कारण सञ्चालन हुन नसकेको एक्सरे सेवा रेडियोग्राफर नियुक्तिसँगै सोमबारदेखी औपचारिक रूपमा सुरु गरिएको अस्पताल व्यवस्थापक देवेन्द्र कुमार सेनले जानकारी दिए ।
रेडियोग्राफर नियुक्त भएपछि अस्पतालमा आउने बिरामीले अब सामान्य एक्सरेका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । कार्यक्रममा रेडियोग्राफर सेजवाललाई नियुक्तिपत्र प्रदान गर्दै अस्पतालमा एक्सरे सेवा सञ्चालनको शुभारम्भ गरिएको थियो । गाउँपालिकाले कर्णाली प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट एक्सरे मेसिन खरिद गरी अस्पतालमा जडान गरेको हो ।
५०० एमए क्षमताको डीआर प्रणाली सहितको एक्सरे मेसिन जडान गरिए पनि आवश्यक प्राविधिक जनशक्ति अभावमा सेवा सञ्चालन हुन सकेको थिएन । रेडियोग्राफर नियुक्तिसँगै अत्याधुनिक प्रविधिको उक्त मेसिनबाट बिरामीको एक्सरे परीक्षण सुरु भएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवामा थप सहजता हुने भएको छ । अस्पतालमै एक्सरे सेवा उपलब्ध भएपछि सामान्य परीक्षणका लागि सदरमुकाम खलंगा, श्रीनगर, दाङ, नेपालगन्ज लगायत अन्य स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता नरहने र बिरामीको समय तथा खर्चसमेत बचत हुने अस्पतालको अपेक्षा छ ।
अस्पतालमा एक्सरे सेवा सञ्चालनले विशेषगरी दुर्घटना, चोटपटक, हाडजोर्नी सम्बन्धी समस्या तथा चिकित्सकले एक्सरे परीक्षण आवश्यक ठानेका अन्य स्वास्थ्य अवस्थाका बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने अस्पताल व्यवस्थापक सेनले जनाउनुभयो । यससँगै कपुरकोट आधारभूत अस्पतालबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाको दायरा थप विस्तार भएको अस्पतालले जनाएको छ ।
स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवासँगै आवश्यक परीक्षण सुविधा विस्तार हुँदै जाँदा नागरिकलाई आफ्नै गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण हुँदै गएको छ । अस्पताल व्यवस्थापनले आगामी दिनमा पनि उपलब्ध स्रोतसाधन र जनशक्तिको प्रभावकारी उपयोग गर्दै नागरिकलाई सहज, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ ।