Butwal Today

पूर्वराजपरिवारको लुकाइएको सम्पत्तिबारे सूचना दिन नेपाल ट्रस्टको आह्वान

३० श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौं । नेपाल ट्रस्टले पूर्वराजा वीरेन्द्र शाह र उनको परिवारसँग सम्बन्धित तर हालसम्म अभिलेखमा नआएका वा लुकाइएका सम्पत्तिबारे प्रमाणसहित सूचना दिन सर्वसाधारणलाई आह्वान गरेको छ। ट्रस्टका अनुसार पूर्वराजपरिवारसँग सम्बन्धित ३ हजार ६ सय रोपनीभन्दा बढी जग्गा हाल उसको व्यवस्थापनमा रहेको छ। त्यसमध्ये ३ हजार २ सय रोपनीभन्दा बढी जग्गा काठमाडौंमा रहेको छ।

यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थामा पूर्वराजपरिवारसँग सम्बन्धित १६८ करोड रुपैयाँभन्दा बढी, ५४ हजार २८९ पाउन्ड स्टर्लिङ र १ लाख ७३ हजार ६२६ अमेरिकी डलर बराबरको निक्षेप रहेको ट्रस्टले जनाएको छ।नेपाल ट्रस्टले अभिलेखमा नआएको वा लुकाइएको सम्पत्तिबारे प्रमाणसहित सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था गरेको छ। सूचना दिने व्यक्तिलाई सम्बन्धित सम्पत्तिको मूल्यको ५ प्रतिशत वा अधिकतम २ लाख रुपैयाँमध्ये जुन रकम कम हुन्छ, त्यही बराबर पुरस्कार उपलब्ध गराइनेछ। ट्रस्टका अनुसार थप सम्पत्ति फेला पार्ने उद्देश्यले यस्तो सूचना आह्वान गरिएको हो। प्राप्त सूचनाका आधारमा पूर्वराजपरिवारसँग सम्बन्धित जग्गा, भवन, बैंक निक्षेपलगायत अन्य सम्पत्तिको खोजी तथा अभिलेखीकरण गरिनेछ।

पूर्वराजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति नेपाल सरकारको स्वामित्वमा हस्तान्तरण भएपछि त्यसको संरक्षण, व्यवस्थापन तथा उपयोगका लागि नेपाल ट्रस्ट स्थापना गरिएको हो। ट्रस्टको पछिल्लो आह्वानसँगै पूर्वराजपरिवारको सम्पत्तिबारे सार्वजनिक चासो पुनः बढेको छ। विशेषगरी काठमाडौंमा रहेको ठूलो भू–सम्पत्तिका कारण ट्रस्टको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?