Butwal Today

अर्को महाधिवेशनसम्म म नै अध्यक्ष हुँ’ ओली

३० श्रावण २०८३, शनिबार
अ+
अ-

इलाम । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा नेतृत्वबाट पछि नहट्ने स्पष्ट पारेका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला नेतृत्व छाडेर मैदानबाट भाग्ने आफ्नो स्वभाव नभएको बताए। उनले आफू अर्को महाधिवेशनसम्म अध्यक्ष रहने दाबी गरे।

पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने भन्दै हस्ताक्षर अभियान चलाइएकोप्रति आक्रोश व्यक्त गर्दै ओलीले त्यसलाई पार्टीभित्रको अनुशासनहीनता र अराजकताको संज्ञा दिए। अध्यक्षलाई हटाउने रे , कसले हटाउने , के मजाक हो यो , यस्तो अराजकता हुन्छ ’ ओलीले प्रश्न गरे। उनले कार्यकर्ताको मतबाट आफू अध्यक्ष निर्वाचित भएको भन्दै पार्टीभित्र नेतृत्व परिवर्तनका नाममा चलाइएका गतिविधिप्रति असन्तुष्टि जनाए। बाहिरी चुनौतीसँग जुधिरहेका बेला पार्टीभित्रै अध्यक्ष हटाउने अभियान चलाइनु उचित नभएको उनको भनाइ थियो। ओलीले सामाजिक सञ्जालमा पार्टी, नेतृत्व र निर्णयविरुद्ध जथाभावी अभिव्यक्ति दिनेहरूलाई पनि अनुशासन पालना गर्न चेतावनी दिए। पार्टीमा बस्ने हो भने विधि, नीति र नियम मान्नुपर्ने भन्दै असन्तुष्टलाई पार्टी छाड्नसमेत चुनौती दिए।

आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई थप अनुशासित ढङ्गले अघि बढाउने बताउँदै ओलीले विधानविपरीत गतिविधिमा संलग्नमाथि संगठनात्मक कारबाही हुने चेतावनीसमेत दिएका छन्। एमालेभित्र नेतृत्वको विकल्प खोज्ने बहस र आन्तरिक असन्तुष्टि बढिरहेका बेला ओलीको पछिल्लो अभिव्यक्तिले पार्टीभित्रको शक्ति संघर्ष थप सतहमा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?