© 2026
काठमाडौं । रोल्पामा पछिल्लो समय निरन्तर भइरहेको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएपछि प्रतिनिधिसभा सदस्य वर्षमान पुनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारमा भेट गरी रोल्पाका विभिन्न क्षेत्रमा भएको क्षति, बेपत्ता तथा प्रभावित नागरिकको अवस्थाबारे जानकारी गराउँदै तत्काल उद्धार, राहत, उपचार र दीर्घकालीन पुनःस्थापनाका लागि विशेष पहल गर्न आग्रह गरेका हुन्।
पुनका अनुसार साउन २७ गते थबाङ गाउँपालिका–५, उवामा आएको पहिरो तथा बाढी र त्यसपछि सुनछहरी गाउँपालिका–२, भित्रीगाममा गएको पहिरोबाट ठूलो क्षति भएको छ। यसअघि सुनछहरी गाउँपालिका–सेरममा समेत पहिरोका कारण मानवीय क्षति भएको उनले बताएका छन्।बाढीपहिरोका कारण मानिसको मृत्यु, बेपत्ता तथा घाइते हुनुका साथै घरआवास, पशुचौपाया, खाद्यान्न, सडक, खानेपानी र विद्यालयलगायतका संरचनामा क्षति पुगेको पुनले बताएका छन्। उनले अझै बेपत्ता रहेकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउन आवश्यक जनशक्ति, उपकरण र प्रविधिको व्यवस्था गर्न माग गरेका छन्।
घाइतेहरूको निःशुल्क उपचार, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घरबारविहीन परिवारलाई तत्काल अस्थायी आवास तथा खाद्यान्न र दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उनको माग छ। त्यस्तै, अवरुद्ध सडक तथा खानेपानीलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न र क्षतिग्रस्त विद्यालय तथा सार्वजनिक संरचनाको पुनर्निर्माण अघि बढाउन पुनले सरकारसँग आग्रह गरेका छन्।वर्षायाम अझै बाँकी रहेकाले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि रोल्पाको भौगोलिक अवस्थालाई ध्यानमा राखी उद्धार टोली, आवश्यक उपकरण तथा हेलिकोप्टरसमेत पूर्वतयारी अवस्थामा राख्नुपर्ने उनले बताएका छन्।
प्रधानमन्त्री शाहले उक्त घटनामा राज्यका सबै संयन्त्र परिचालन गरिएको र पीडितलाई राहत उपलब्ध गराउन निर्देशन दिइसकेको जानकारी गराएको पुनले बताएका छन्। साथै, अवरुद्ध सार्वजनिक सेवा सञ्चालन तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको उनको भनाइ छ। यसैबीच, पुनले बाढीपहिरोपीडितका लागि प्रतिनिधिसभा सदस्यका रूपमा प्राप्त हुने एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। उनले पीडित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि आफू निरन्तर पहल गर्ने बताएका छन्।
पुनले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले प्रभावित परिवारलाई सहयोग गर्न देश–विदेशमा रहेका नेपालीलाई समेत अपिल गरेका छन्।