Butwal Today

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोज २१ देखि २३ गतेसम्म

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशन आगामी असोज २१ देखि २३ गतेसम्म हुने भएको छ। संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमिति बैठकले अधिवेशनको मिति तय गरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए। बैठकले चालु आर्थिक वर्ष २०८३/ ०८४ को आय–व्ययसमेत स्वीकृत गरेको छ।

बैठकले सैनामैना र देवदहमा सञ्चालन स्वीकृति पाएको डि.जि.एम परियोजनाका लागि सह–परियोजना व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरेको छ। अनुगमन तथा मूल्यांकन, उत्पादन, खरिद र लेखा उपसमितिसमेत गठन गरिएको संघले जनाएको छ। बैठकमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले उद्योगी–व्यवसायीको हकहित, व्यवसाय प्रवद्र्धन तथा क्षेत्रको आर्थिक र सामाजिक विकासका लागि थप कार्यक्रम ल्याउन सुझाव दिए।

संस्थापक अध्यक्ष श्रेष्ठको अर्धकदको शालिक बनाइने

बुटवल उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष स्वर्गीय पद्यचन्द्र श्रेष्ठको अर्धकदको शालिक संघ परिसरमा निर्माण गरिने भएको छ। आगामी साधारण सभामा अनावरण गर्नेगरी शालिक निर्माण गर्ने निर्णय भएको अध्यक्ष अर्यालले बताए। २००९ सालमा तदर्थ समिति हुँदै २०१० सालमा स्थापना भएको संघको संस्थापक अध्यक्षका रूपमा श्रेष्ठले २०१६ सालसम्म नेतृत्व गरेका थिए। उनले उद्योगी–व्यवसायीको हकहित तथा बुटवल क्षेत्रको औद्योगिक, व्यावसायिक, आर्थिक र सामाजिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

यसैगरी संघले पूर्वअध्यक्षहरूको नाममा विभिन्न विषयगत अक्षयकोष स्थापना गर्ने निर्णयसमेत गरेको छ। अक्षयकोषका लागि सम्बन्धित पूर्वअध्यक्ष वा उनका परिवारबाट सहयोग उपलब्ध गराउन आह्वान गरिने महासचिव अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?