Butwal Today

जापानमा वर्षा, बाढी र पहिरोले ठूलो क्षति, ४ जनाको मृत्यु

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । पूर्वी जापानमा बिहीबारदेखि परेको रेकर्ड भारी वर्षाका कारण बाढी र डुबान हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। टोकियोनजिकैको चिबा प्रिफेक्चर सबैभन्दा बढी प्रभावित भएको छ। चिबाका विभिन्न क्षेत्रमा सडक तथा घरहरू डुबानमा परेका छन् भने सवारीसाधनसमेत बाढीमा फसेका छन्।

जापान मौसम विज्ञान एजेन्सीले भारी वर्षा र बाढीको उच्च जोखिम देखिएपछि चिबाका केही क्षेत्रमा लेभल–५ को उच्चतम आपत्कालीन चेतावनी जारी गरेको थियो। शुक्रबार बिहान वर्षा केही कम भएपछि चेतावनीको स्तर घटाइए पनि थप वर्षाको सम्भावना रहेकाले अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्।चिबा सहरमा एक घण्टामै ११५ मिलिमिटर वर्षा रेकर्ड भएको थियो। साकुरा क्षेत्रमा बाढीमा डुबेको ट्याक्सीभित्र ६६ वर्षीया महिला मृत अवस्थामा भेटिएकी थिइन्।

भारी वर्षाका कारण यातायात सेवा पनि प्रभावित भएको छ। नारिता विमानस्थलमा करिब ७ हजार यात्रु रातभर अलपत्र परेका थिए। रेल तथा बस सेवा अवरुद्ध भएपछि विमानस्थलमै रोकिएका यात्रुहरूलाई प्रशासनले खाना, पानी र सुत्ने सामग्री उपलब्ध गराएको थियो।वर्षाका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै सडक, घर तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार तातो तथा आर्द्र हावा माथिल्लो वायुमण्डलको चिसो हावासँग मिसिँदा वातावरण अस्थिर बनेपछि छोटो समयमा अत्यधिक वर्षा भएको हो।चिबासहित कान्तो क्षेत्रका बासिन्दालाई बाढी तथा पहिरोको जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?