© 2026
काठमाडौं । ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता उल्लंघनसम्बन्धी कसुरमा पक्राउ गरेको छ। पक्राउ पुर्जीमा व्यक्तिगत गोपनीयता उल्लंघनसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उल्लेख छ।श्रेष्ठको पक्राउपछि पत्रकार तथा सञ्चारकर्मीहरूले विरोध जनाएका छन्। सञ्चारमाध्यममा प्रकाशित समाचारसम्बन्धी विवाद हेर्ने अर्धन्यायिक निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै प्रहरीले क्षेत्राधिकार मिचेर पक्राउ गरेको उनीहरूको आरोप छ।
पत्रकारहरूले श्रेष्ठलाई निःशर्त रिहा गर्न माग गरेका छन्। श्रेष्ठ सम्पादक रहेको जनआस्था साप्ताहिकले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका एक विवाहित सांसदले एक युवतीसँग चुम्बन गरेको दाबी गरिएको तस्बिर प्रकाशित गरेको थियो। उक्त तस्बिर युवतीकै सामाजिक सञ्जालबाट लिइएको श्रेष्ठको दाबी छ। यस्तै, उपसभामुख रुवीकुमारी ठाकुरको एक विवाहित व्यक्तिसँग सम्बन्ध रहेको दाबी गर्दै अर्को समाचारसमेत प्रकाशित गरिएको थियो।प्रहरीले भने व्यक्तिको चरित्र तथा निजी जीवनसँग सम्बन्धित तस्बिर र सामग्री प्रकाशन गर्दा वैयक्तिक गोपनीयतासम्बन्धी कानुन आकर्षित हुने आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।
नेपालमा वैयक्तिक गोपनीयतासम्बन्धी कानुन २०७५ साल असोज २ गते प्रमाणीकरण भई कार्यान्वयनमा आएको हो। उक्त ऐनले व्यक्तिको जीउ, आवास, लिखत, सम्पत्ति, तथ्यांक, पत्राचार तथा चरित्रसम्बन्धी गोपनीयताको संरक्षण गर्ने व्यवस्था गरेको छ।ऐनको दफा ३ अनुसार कुनै व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुने गरी सम्बन्धित विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यमबाट सार्वजनिक गर्न नहुने व्यवस्था छ। यस्तै, दफा १५ ले व्यक्तिको वैयक्तिक आचरण र व्यवहारको गोपनीयताको अधिकार सुनिश्चित गरेको छ।
दफा १६ मा तस्बिरसम्बन्धी व्यवस्था गरिएको छ। व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीबिना तस्बिर खिच्न वा बदनाम गर्ने नियतले तस्बिर निर्माण, प्रकाशन वा सार्वजनिक गर्न रोक लगाइएको छ। कसैलाई सताउने, हैरान पार्ने वा अनुचित फाइदा लिने उद्देश्यले मञ्जुरीबिना तस्बिर प्रकाशन तथा प्रचारप्रसार गर्नसमेत निषेध गरिएको छ।
तर ऐनले सार्वजनिक रूपमा व्यक्त गरिएका विचार, मन्तव्य तथा सार्वजनिक कार्यक्रममा खिचिएका श्रव्यदृश्य र तस्बिरको प्रकाशन तथा प्रसारणलाई केही अवस्थामा बाधा नपुर्याउने व्यवस्था पनि गरेको छ। यही प्रावधानलाई आधार बनाएर श्रेष्ठ पक्षले प्रकाशित तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको र समाचार सार्वजनिक चासोको विषय भएको दाबी गरिरहेको छ।
तस्बिर वास्तविक हो कि ‘फेक’
जनआस्थामा प्रकाशित चुम्बनको तस्बिर सार्वजनिक भएपछि सम्बन्धित युवतीले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै तस्बिर ‘फेक’ भएको दाबी गरेकी थिइन्। यसले प्रकाशित सामग्रीको वास्तविकतामाथि समेत प्रश्न उठाएको छ। तर प्रहरीले साइबर अपराधको सट्टा वैयक्तिक गोपनीयता उल्लंघनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको विषयलाई श्रेष्ठ निकट स्रोतले फरक ढंगले व्याख्या गरेको छ। स्रोतले तस्बिर तथा समाचार गलत भएको भए साइबर अपराधसम्बन्धी अनुसन्धान हुनुपर्ने दाबी गर्दै वैयक्तिक गोपनीयताको कसुर लगाइनुले प्रकाशित सामग्री वास्तविक रहेको संकेत गर्ने तर्क गरेको छ। यद्यपि, प्रहरीले लगाएको कानुनी कसुर मात्रका आधारमा कुनै तस्बिर वास्तविक वा नक्कली भएको निष्कर्ष निकाल्न सकिँदैन।
तस्बिरको वास्तविकता पुष्टि गर्न प्राविधिक परीक्षण तथा अन्य प्रमाण आवश्यक पर्छ। यस प्रकरणमा एकातर्फ व्यक्तिको गोपनीयता र प्रतिष्ठाको संरक्षणको कानुनी अधिकार तथा अर्कोतर्फ सार्वजनिक चासोका विषयमा सञ्चारमाध्यमले समाचार प्रकाशन गर्न पाउने अधिकारबीचको सीमा मुख्य विवादका रूपमा देखिएको छ। श्रेष्ठमाथिको अनुसन्धान र अदालतबाट हुने कानुनी प्रक्रियापछि मात्र प्रकाशित सामग्रीले वैयक्तिक गोपनीयता ऐन उल्लंघन गरेको हो वा होइन भन्ने अन्तिम टुंगो लाग्नेछ।