Butwal Today

टिमुर टिप्ने नयाँ प्रविधि, श्रम र समय दुवै बचत

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

सल्यान  । टिमुरको बोटमा फल लागेपछि किसानका लागि सबैभन्दा कठिन काम दाना सङ्कलन गर्नु हो ।

तिखा काँडाले भरिएको बोटबाट हातले टिमुर टिप्दा घाउ चोट लाग्ने जोखिमका साथै धेरै श्रम र समय पनि खर्च हुन्छ । यही कारण टिमुर खेतीबाट राम्रो आम्दानी भए पनि त्यसको ठुलो हिस्सा फल सङ्कलनमै खर्च हुने गरेको किसानको गुनासो छ ।

अब भने टिमुर टिप्ने क्रममा किसानले भोग्दै आएको यस किसिमको समस्या केही सहज हुने अपेक्षा गरिएको छ । वनस्पति अनुसन्धान केन्द्र सल्यानले काँडाबाट जोगिँदै कम श्रम र कम समयमा टिमुर सङ्कलन गर्न सकिने नयाँ कृषि उपकरणको नमुना तयार गरी परीक्षण थालेको छ ।

टिमुर टिप्नका लागि विकास गरिएको उक्त उपकरण अहिले परीक्षणको क्रममा रहेको वनस्पति अनुसन्धान केन्द्र सल्यानले जनाएको छ । यो कृषि औजारको प्रयोग, प्रभावकारिता र कत्तिको टिक्छ भन्ने जस्ता परीक्षणपछि अपेक्षा अनुसार सफल देखिएमा किसानको मागका आधारमा ठुलो परिमाणमा उत्पादन गर्ने तयारी गरिएको छ ।

किसानले सजिलै प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले उत्पादन भएको उपकरण कम्पनीकै लागत मूल्यमा उपलब्ध गराउन आवश्यक समन्वय गरिने केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डा. मित्र पाठकका अनुसार टिमुर उत्पादन गर्ने किसानले कमाएको आम्दानीको करिब ५० प्रतिशत दाना सङ्कलनमा खर्च गर्नुपर्ने अवस्था छ । टिमुरको बोटमा रहेका तिखा काँडाका कारण हातले टिप्दा श्रम बढी लाग्ने, समय धेरै खर्च हुने र हाँगा भाँच्दा बोटलाइ अर्को वर्षको उत्पादनमा समस्या हुनसक्ने भएकाले त्यसको विकल्प खोज्ने क्रममा नयाँ उपकरण विकास गरिएको उनले बताए ।

राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गतको कृषि औजार कारखाना वीरगन्जसँगको सहकार्यमा उपकरणको नमुना तयार गरिएको हो । आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम अनुसार केही थान नमुना निर्माण गरिएको र अहिले त्यसको प्रयोगात्मक परीक्षण भइरहेको केन्द्रले जनाएको छ । “हामीले दिएको डिजाइन अनुसार कम्पनीले उपकरण तयार गरेको हो ।

यसको प्रयोगले टिमुर सङ्कलनमा लाग्ने श्रम घट्नुका साथै छोटो समयमा धेरै टिमुर टिप्न सकिने अपेक्षा गरेका छौँ,” डा. पाठकले भने, “परीक्षण सफल भयो भने किसानको माग अनुसार ठुलो परिमाणमा उत्पादन गर्न सकिन्छ ।”

यस उपकरणको उद्देश्य किसानलाई टिमुरको बोटमा रहेका काँडासँग प्रत्यक्ष जुधेर हातैले दाना टिप्नुपर्ने बाध्यता हटाउनु रहेको अनुसन्धान केन्द्रले जनाएको छ । उपकरणको प्रयोगबाट सुरक्षित र तुलनात्मक रूपमा छिटो टिमुर सङ्कलन गर्न सकिने अपेक्षा गरिएको छ । विशेष गरी व्यावसायिक रूपमा ठुलो क्षेत्रफलमा टिमुर खेती गर्ने किसानका लागि यसले श्रम र सङ्कलन लागत घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

हातले दाना टिप्ने वा हाँगा भाँचेर सङ्कलन गर्ने क्रममा बोटमा समेत क्षति पुग्ने गरेको र हाँगा भाँचिँदा अर्को वर्ष फल लाग्ने क्षमतामा असर पर्न सक्ने भएकाले बोटको संरक्षण गर्दै उत्पादन लिन सक्ने प्रविधिको आवश्यकता रहेको केन्द्रले जनाएको छ ।

हाल तयार गरिएको नमुना उपकरणले टिमुरको फल वा साना झुप्पा छुट्टाएर सङ्कलन गर्न सहयोग गर्ने गरी विकास गरिएको हो । यसको परीक्षणबाट उपकरणको प्रयोग कत्तिको सहज हुन्छ, टिमुरको दाना तथा बोटमा कस्तो प्रभाव पर्छ र किसानका लागि कति उपयोगी हुन्छ भन्ने विषयमा थप मूल्याङ्कन गरिने डा. पाठकले बताए ।

परीक्षणबाट उपकरण प्रभावकारी प्रमाणित भएमा त्यसलाई प्रयोगशाला वा अनुसन्धानमै सीमित नराखी किसानसम्म पु¥याउने केन्द्रको तयारी छ । किसान तथा समूहबाट माग आएमा ठुलो सङ्ख्यामा उत्पादनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गरिने र सम्भव भएसम्म कम्पनीकै लागत मूल्यमा किसानलाई उपलब्ध गराउने योजना रहेको केन्द्रले जनाएको छ ।

यसले टिमुर खेतीमा बढ्दो श्रम अभाव र महँगो सङ्कलन लागतको समस्या समाधान गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सल्यानमा टिमुरलाई प्रमुख व्यावसायिक जडीबुटीका रूपमा खेती गरिँदै आएको छ । यहाँ उत्पादित टिमुरको बजारमा माग उच्च रहेकाले किसानले पछिल्लो समय टिमुर खेती विस्तार समेत गर्दै आएका छन् ।

राम्रो मूल्य पाउने भएकाले टिमुर किसानका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत बने पनि उत्पादनपछि सङ्कलन गर्ने काम भने अझै परम्परागत र श्रममा आधारित छ । सल्यानबाट वार्षिक करिब ५० करोड रुपैयाँ बराबरको टिमुर उत्पादन हुँदै आएको बताइन्छ । यद्यपि सरकारी कार्यालयको तथ्याङ्कमा यो कारोबार कम देखिन्छ ।

जिल्लामा उत्पादन हुने टिमुर स्थानीय बजारसँगै देशका विभिन्न ठाउँमा पुग्ने गरेको छ । टिमुरको उत्पादन र बजार विस्तार हुँदै गए पनि सङ्कलनमा लाग्ने लागत घटाउन सके किसानको वास्तविक आम्दानी अझ बढ्न सक्ने भएकाले नयाँ उपकरणको परीक्षणलाई महत्वका साथ हेरिएको छ ।

नेपालमा समुद्री सतहबाट करिब आठ सयदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा टिमुर खेती हुने गरेको पाइन्छ । सल्यान बाहेक सुर्खेत, रुकुम, जाजरकोट, दैलेख, रोल्पा, गुल्मी, बागलुङ, पाल्पा, म्याग्दी, स्याङ्जा र पर्वत लगायतका पहाडी जिल्लामा पनि टिमुरको खेती हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?