© 2026
कञ्चन । गुल्मीको सत्यवती गाउँपालिका–२ र ३ ठुलो लुम्पेकका पाखा–पखेरा, खोल्सा–खोल्सी र भिर–पहिरोमा प्रकृतिले आफैँ सिर्जना गरेका कलात्मक ढुङ्गा अहिले काठमाडौँमा प्रदर्शनीमा राखिएका छन् ।
प्राकृतिक रूपमा बनेका अनौठा आकृति र संरचना बोकेका ती ढुङ्गालाई समसामयिक कलाका रूपमा प्रस्तुत गर्दै ठुलो लुम्पेकको प्राकृतिक सौन्दर्य र स्थानीय पहिचानलाई कलामार्फत चिनाउने प्रयास गरिएको हो ।
काठमाडौँको नेपाल आर्ट काउन्सिल ग्यालरी, बबरमहलमा भइरहेको सामूहिक कला प्रदर्शनीमा ठुलो लुम्पेकबाट सङ्कलित प्राकृतिक स्वरूपका १२ वटा कलात्मक ढुङ्गा विशेष आकर्षणका रूपमा राखिएका छन् । ‘प्रकृतिको हस्ताक्षर’ नाम दिइएको यो प्रस्तुति काठमाडौँ विश्वविद्यालयअन्तर्गत आर्ट एन्ड डिजाइन विभागका सहायक प्राध्यापक भुवन थापा ‘बहुवी’को परिकल्पना र सङ्कलनमा तयार भएको हो ।
समुद्री सतहदेखि करिब ५०० मिटरदेखि दुई हजार ६ सय मिटरसम्मको उचाइमा फैलिएको ठुलो लुम्पेक विविध भौगोलिक स्वरूप भएको क्षेत्र हो । यही भौगोलिक विविधताका पाखा, खोल्सा, भिर र पहिरोबाट कलाकार थापाले करिब तीन दशकदेखि विभिन्न प्राकृतिक आकृति भएका ढुङ्गा सङ्कलन गर्दै आएका छन् ।
प्रकृतिले कुनै मानवीय हस्तक्षेपबिना निर्माण गरेका ती ढुङ्गाका आकृतिलाई कलाकारले कलाको दृष्टिकोणबाट प्रस्तुत गरेका हुन् । ढुङ्गामा देखिने आकृति, बनोट र स्वरूपमा लामो समयको प्राकृतिक प्रक्रियाका छाप देखिने भएकाले त्यसलाई ‘प्रकृतिको हस्ताक्षर’ नाम दिइएको हो ।
कलाकार थापाका अनुसार यी ढुङ्गा मानिसले कुँदेर वा आकार दिएर बनाएका कलाकृति होइनन् । प्रकृतिले लामो समय लगाएर आफैँ निर्माण गरेका आकृतिलाई कलाका रूपमा हेर्ने र त्यससँग दर्शकको भावनात्मक सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको हो । प्रदर्शनीमा राखिएका प्रत्येक ढुङ्गाले दर्शकका लागि फरक अर्थ र अनुभूति दिन सक्ने अपेक्षा गरिएको छ ।
एउटै प्राकृतिक आकृतिलाई कसैले कुनै जीवजन्तुसँग जोडेर हेर्न सक्छ भने कसैले कुनै व्यक्ति, वस्तु वा स्मृतिसँग सम्बन्धित रूपमा अनुभूति गर्न सक्ने भएकाले दर्शकको व्यक्तिगत व्याख्यालाई पनि प्रदर्शनीको महत्त्वपूर्ण पक्ष बनाइएको छ ।
दर्शकको भावना, विचार र स्मृतिलाई प्रत्यक्ष रूपमा अभिव्यक्त गराउन प्रदर्शनी स्थलमा तीन रङका टीका (स्टिकर) को व्यवस्था गरिएको छ । आफूलाई विशेष मन परेको वा कुनै भावना र स्मृति जगाएको ढुङ्गाको आकृतिमा दर्शकले आफूलाई उपयुक्त लागेको रङको टीका लगाएर प्रतिक्रिया जनाउन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसरी दर्शक केवल कलाकृतिको अवलोकनकर्ता मात्र नभई त्यसको अनुभूति र व्याख्यामा सहभागी हुने व्यवस्था गरिएको छ । प्राकृतिक रूपमा बनेका आकृतिलाई समसामयिक कलाको माध्यमबाट प्रस्तुत गर्दै दर्शकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने प्रयासका रूपमा ‘प्रकृतिको हस्ताक्षर’लाई लिइएको छ ।
प्रदर्शनीले प्राकृतिक रूपमा सुन्दर र विविध भू–आकृति रहेको ठुलो लुम्पेकलाई कलाका माध्यमबाट काठमाडौंसम्म चिनाउने अवसरसमेत दिएको छ । सामान्यतया स्थानीय भूगोलभित्र सीमित रहने प्राकृतिक सम्पदालाई कलाको माध्यमबाट राजधानीको कला क्षेत्रमा प्रस्तुत गर्दा ठुलो लुम्पेकको फरक पहिचान स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ठुलो लुम्पेकका विभिन्न स्थानमा पाइने प्राकृतिक स्वरूपका ढुङ्गालाई सङ्कलन गरी प्रदर्शनीमा ल्याउनुको उद्देश्य केवल कलाकृति प्रदर्शन गर्नु नभई प्रकृति, स्थानीय भूगोल र मानवीय अनुभूतिबिचको सम्बन्ध देखाउनु पनि रहेको कलाकारको भनाइ छ ।
प्राकृतिक स्रोत र स्थानीय पहिचानलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्न सके त्यसले पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याउन सक्ने देखिन्छ । ठुलो लुम्पेकका प्राकृतिक दृश्य, भौगोलिक विविधता र त्यहाँ पाइने प्राकृतिक आकृतिका ढुङ्गालाई कलासँग जोडेर प्रस्तुत गरिनुले स्थानीय पर्यटनको बजारीकरणका लागि नयाँ सम्भावना देखाएको छ ।
काठमाडौँ विश्वविद्यालयको आर्ट एन्ड डिजाइन विभागमा सन् २०२० देखि २०२४ सम्म अध्ययन गरेका विद्यार्थीहरूको समूह ‘संगम’ले गत वर्षदेखि सामूहिक कला प्रदर्शनी आयोजना गर्दै आएको छ । यसै क्रममा यस वर्ष ‘संयोजन’ नामक कला प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीमा काठमाडौँ विश्वविद्यालय, आर्ट एन्ड डिजाइन विभागका सहायक प्राध्यापक भुवन थापा ‘बहुवी’ले ‘प्रकृतिको हस्ताक्षर’ प्रस्तुत गरेका हुन् । उनले लामो समयदेखि आफ्नै गाउँको प्राकृतिक परिवेशबाट सङ्कलन गर्दै आएका ढुङ्गामध्ये १२ वटा कलात्मक आकृतिका ढुङ्गा छनोट गरी प्रदर्शनीमा राखेका छन् ।
प्रकृतिले सिर्जना गरेका आकृतिलाई कलाको नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने यो प्रस्तुतिले कला केवल कलाकारले सिर्जना गरेको वस्तुमा मात्र सीमित हुँदैन भन्ने सन्देशसमेत दिएको छ । प्रकृतिमा रहेका वस्तु, आकृति र संरचनालाई कलाको दृष्टिले हेर्दा त्यसमा नयाँ अर्थ र अनुभूति भेटिन सक्ने प्रदर्शनीले देखाएको छ ।
‘संगम’ समूहले प्रदर्शनी अवलोकन गर्न कला, प्रकृति र सिर्जनात्मक प्रयोगमा रुचि राख्ने सबैलाई आग्रह गरेको छ । आयोजकका अनुसार प्रदर्शनीमार्फत दर्शकलाई प्राकृतिक कलासँग प्रत्यक्ष साक्षात्कार गराउँदै स्थानीय पहिचान, प्रकृति र सिर्जनात्मक सोचबिचको सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको छ ।
ठुलो लुम्पेकका पाखा–पखेरामा प्रकृतिले हजारौँ वर्षको प्रक्रियाबाट निर्माण गरेका ढुङ्गाका आकृति राजधानीको कला ग्यालरीमा पुग्नु आफैँमा स्थानीय प्राकृतिक सम्पदाको नयाँ परिचय हो । कला र पर्यटनलाई जोडेर स्थानीय प्राकृतिक सम्पदाको बजारीकरण गर्न सकिने सम्भावनालाई समेत यस प्रदर्शनीले उजागर गरेको छ ।