Butwal Today

बस्ती जोगाउन तटबन्ध

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

बुटवल । राष्ट्रिय गौरवको आयोजना बबई सिँचाई आयोजनाले सिञ्चित क्षेत्र सुरक्षा कार्यक्रम अन्तर्गत बबई नदीमा ३२ किलोमिटर तटबन्ध निर्माण गरेको छ ।

तटबन्ध निर्माणपछि बबई नदी आसपासको क्षेत्र सुरक्षित भएको छ ।  बबई सिँचाई आयोजनाले निर्माण गरेको तटबन्धबाट बायाँतर्फ रहेका बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकाका वडा नं. ११ र १२ सुरक्षित भएका छन् । त्यसै गरी ठाकुरबाबा नगरपालिकाका केही वडाहरू समेत जोखिमबाट मुक्त भएका छन् ।

बाढी र नदीकटानको उच्च जोखिममा रहेको स्थानमा आयोजनाले ड्याम सहितको तटबन्ध निर्माण गरेको छ । गुलरिया नगरपालिका वडा नं १२ को भैँसाही टडुवा लगाएतका बाढी र नदी कटानको उच्च जोखिममा रहेको गाउँहरू अहिले सुरक्षित भएका छन् । नदीको सतह सामान्य बढ्दा पनि सहजै कटान र बाढी हुने भादा नदी पुल आसपासमा रहेका गाउँहरू समेत सुरक्षित भएका छन् ।

बबई सिँचाई आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेले विशेष गरी खेतीयोग्य जमिन र बस्ती भएको स्थानलाई प्राथमिकतामा राखेर तटबन्ध निर्माण गरिएको बताए । उनले बबई नदी र स–साना खोलाको बाढी र कटान रोक्नका लागि आयोजनाले सिञ्चित क्षेत्र संरक्षण कार्यक्रम राखेको बताउँदै ४१ किलोमिटर तटबन्धमध्ये करिब ३२ किलोमिटर तटबन्ध निर्माण गरिसकिएको बताए । उनले जीर्ण र जोखिम भएको स्थानमा मर्मत गर्दै बाँकी तटबन्ध निर्माण कार्य जारी राखिएको जानकारी गराए ।

गुलरिया नगरपालिका वडा नं. ११ इन्द्रपुरका त्रिभुवन मल्लाहले पहिले सामान्य पानी पर्दा पनि सडक किनारमा त्रिपाल टाँगेर बस्नुपर्ने अवस्था भए पनि अहिले तटबन्धले बस्ती सुरक्षित भएको बताए ।

उनले भादा नदीमा पानीको सतह बढेपछि पुरै इन्द्रपुर गाउँ जलमग्न हुने गरेको बताउँदै ड्याम सहितको तटबन्ध निर्माण भएपछि ढुक्क भएको बताए । उनले भने–“अहिले बाढी त आएको छैन तर बाढी आएपनि गाउँमा पानी पस्दैन भन्नेमा ढुक्क छौँ ।”

बबई सिँचाई आयोजनाका निर्देशक गोपाल शर्माले सिञ्चित क्षेत्र सँगसँगै बस्ती सुरक्षित हुने गरी तटबन्ध निर्माण गर्दै आएको बताए । उनले हालसम्म जोखिमयुक्त क्षेत्रमा र बस्तीको नजिकमा तटबन्ध निर्माण गरिएको बताउँदै आयोजनाको गुरुयोजना अनुसार थप नौ किलोमिटर तटबन्ध निर्माण कार्य अगाडि बढाइएको बताए ।

बबई नदीसँगै भादा खोला, सर्जु नाला लगायतका स–साना खोलानालाहरूमा समेत कटान नियन्त्रणको काम भइरहेको जानकारी गराए ।  २०४५ सालदेखि सुरु भएको बबई सिचाइँ आयोजनाको आगामी २०८५/८६ सम्म आयोजनाको निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?