© 2026
काठमाडौँ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
भेटमा उनीहरुबीच नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।
आज मन्त्रालयमा महिला सशक्तीकरण, बाल अधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र ९केयर इकोनोमी०, मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानका छलफल भएको थियो ।
मन्त्री बादीले नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा आपसी सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिइन ।
उनले शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अष्ट्रेलियाले नेपाललाई गर्दै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गरिन ।
त्यसैगरी, अष्ट्रेलियाको छात्रवृत्ति कार्यक्रममार्फत नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, विभिन्न क्षेत्रका पेसाकर्मी तथा सरकारी कर्मचारीको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताउँदै मन्त्री बादीले यसबाट नीति निर्माण, कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव परेको उल्लेख गरिन ।
त्यस्तै, सामाजिक सुरक्षा र हेरचाह अर्थतन्त्रबीचको अन्तरसम्बन्धका विषयमा चर्चा गर्दै मन्त्री बादीले महिलाले घरायसी तथा हेरचाहका क्षेत्रमा गर्दै आएको योगदानलाई आर्थिक रूपमा पहिचान र मूल्याङ्कन गर्न आवश्यक रहेको बताइन ।
मन्त्री बादीले आगामी दिनमा नेपाल–अष्ट्रेलिया सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीतिगत अनुभव हस्तान्तरण, संस्थागत क्षमता विकास र जनस्तरको सम्बन्ध विस्तारसहितको पारस्परिक साझेदारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन ।
भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलियाबीचको विद्यमान सहकार्यको महत्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त गरेका थिए ।