© 2026
सिद्धार्थनगर । नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ग्राहक विस्तार, विद्युत् बिक्री, महसुल असुली तथा सेवा सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
केन्द्रका प्रमुख सहायक प्रबन्धक सुरज रेग्मीका अनुसार एक वर्षको अवधिमा ३ हजार २४१ नयाँ ग्राहकलाई विद्युत् जडान गरिएको छ भने करिब ४ अर्ब २८ करोड ७१ लाख ५७ हजार ६८४ रुपैयाँ बराबरको विद्युत् बिक्री भएको छ । उक्त अवधिमा बिक्री गरिएको विद्युतको महसुल शतप्रतिशत असुल गर्न केन्द्र सफल भएको उनले जानकारी दिए ।
रेग्मीका अनुसार नयाँ ग्राहक थपिएसँगै वितरण केन्द्रको कुल ग्राहक सङ्ख्या करिब साढे तीन प्रतिशतले वृद्धि भएको छ । “हामीले आर्थिक वर्षभरि बिक्री गरेको विद्युतको सम्पूर्ण रकम असुल गर्न सफल भएका छौँ । यो उपलब्धि कर्मचारीहरूको निरन्तर मेहनत, ग्राहकहरूको सहयोग र प्रभावकारी व्यवस्थापनका कारण सम्भव भएको हो,” उनले भने ।
उनका अनुसार केन्द्रको औसत महसुल सङ्कलन अवधि पनि लक्ष्यभन्दा राम्रो रहेको छ । बिल जारी भएको २० दिनभित्रै अधिकांश महसुल सङ्कलन गर्न केन्द्र सफल भएको उनले बताए । माथिल्लो कार्यालयबाट २२ दिनभित्र महसुल उठाउने लक्ष्य दिइएको भए पनि भैरहवा वितरण केन्द्रले त्योभन्दा दुई दिन अगावै औसतमा रकम सङ्कलन गर्न सफल भएको उनको भनाइ छ ।
महसुल असुलीलाई प्रभावकारी बनाउन वितरण केन्द्रले बक्यौता ग्राहकविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरेको थियो । आर्थिक वर्ष २०८२/८३ मा कुल ५ हजार ५३८ ग्राहकको विद्युत् लाइन काटिएको र त्यसबाट ८ करोड ९२ लाख १८ हजार ३७८ रुपैयाँ ५२ पैसा बराबरको बक्यौता महसुल असुल गरिएको रेग्मीले जानकारी दिए । भैरहवा र लुम्बिनी गरी केन्द्रअन्तर्गतका दुई वटै शाखाबाट संयुक्त रूपमा यो अभियान सञ्चालन गरिएको थियो ।
यसै गरी लामो समयदेखि कालोसूचीमा रहेका ग्राहकबाट पनि उल्लेखनीय रकम असुल गरिएको केन्द्रले जनाएको छ । रेग्मीका अनुसार २७८ जना कालोसूचीमा रहेका ग्राहकबाट १ करोड ५४ लाख ९१ हजार ९३२ रुपैयाँ असुल गरिएको छ । कालोसूचीमा परेका ग्राहकहरूको तिनपुस्ते विवरण खोज्ने, उनीहरूको अन्य मिटर तथा सम्पर्क पहिचान गर्ने कार्यमा कर्मचारीहरूले निकै मेहनत गरेको उनले बताए ।
उनले स्थानीय तहहरूको सहयोग पनि यस अभियानमा प्रभावकारी रहेको उल्लेख गरे । ग्राहकको पहिचान तथा सम्पर्कका लागि विभिन्न पालिकासँग समन्वय गरिएको र आवश्यक सहयोग प्राप्त भएकाले कालोसूचीको ठुलो रकम असुल गर्न सफल भएको उनको भनाइ छ ।
विद्युत् चुहावट तथा चोरी नियन्त्रणतर्फ पनि वितरण केन्द्र सक्रिय देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा ४४ जना ग्राहकलाई विद्युत् चुहावट तथा चोरीमा कारबाही गरिएको र त्यसबाट करिब ८ लाख १५ हजार रुपैयाँ असुल गरिएको केन्द्रले जनाएको छ । विद्युत् चुहावट नियन्त्रणलाई आगामी दिनमा पनि प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने रेग्मीले बताए ।
सडक बत्ती व्यवस्थापनलाई पनि वितरण केन्द्रले यस वर्ष प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । विगतमा सडक बत्तीको महसुल नियमित रूपमा उठ्न नसकेको स्वीकार गर्दै रेग्मीले अब प्रत्येक वडालाई छुट्टै ग्राहकका रूपमा कायम गरी अनमिटर सडक बत्तीहरूको व्यवस्थापन गरिएको बताए । वडागत रूपमा लागत निर्धारण गरी नियमित बिलिङको व्यवस्था गरिएको र आगामी आर्थिक वर्षदेखि सडक बत्तीको महसुल नियमित रूपमा उठ्ने अपेक्षा गरिएको उनले बताए ।
“हामीले आफ्नो कार्यक्षेत्रभित्र रहेका सबै वडाहरूको सडक बत्तीको लागत व्यवस्थापन गरेका छौँ । अब प्रत्येक वडामा मासिक रूपमा बिल पठाइनेछ र स्थानीय तहबाट नियमित महसुल प्राप्त हुने विश्वास गरेका छौँ,” उनले भने ।
सेवा प्रवाह सुधार तथा विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन केन्द्रले संरचनागत सुधारका कामलाई पनि प्राथमिकतामा राखेको छ । रेग्मीका अनुसार मैनहिया सबस्टेसनबाट दुई वटा नयाँ फिडर सञ्चालनमा ल्याइएपछि भैरहवा क्षेत्रको बढ्दो विद्युत् भार व्यवस्थापन गर्न सहज भएको छ । यसबाट भैरहवा सबस्टेसनमा परेको अतिरिक्त लोड अर्को सबस्टेसनतर्फ स्थानान्तरण गर्न सकिएको उनले बताए ।
विद्युत् आपूर्तिमा लामो समयदेखि समस्याग्रस्त मानिएको मर्चवार क्षेत्रमा पनि सुधारका प्रयास गरिएको केन्द्रले जनाएको छ । उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै न्यून भोल्टेजको समस्या कम गर्न विशेष पहल गरिएको रेग्मीले बताए । आयोजना अन्तर्गत निर्माणाधीन ३३ केभी प्रसारण लाइनलाई अस्थायी रूपमा ११ केभीमा चार्ज गरी मर्चवार क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्ने प्रयास गरिएको उनले जानकारी दिए ।
“त्यहाँको स्थायी सबस्टेसन निर्माण सम्पन्न भएपछि अझ ठुलो सुधार हुनेछ । तर अहिले गरिएको व्यवस्थापनले पनि स्थानीय उपभोक्ताले केही राहत महसुस गर्नुभएको छ,” उनले भने ।
रेग्मीका अनुसार विगतमा गर्मीयाममा देखिने विद्युत् अवरोध, अत्यधिक लोड तथा भोल्टेज समस्याको अध्ययन गरी समाधानका लागि आगामी आर्थिक वर्षका योजना तयार पारिएको छ । वितरण केन्द्रले आवश्यक बजेट माग गर्दै माथिल्लो कार्यालयमा विस्तृत प्रस्तावसमेत पठाएको उनले बताए ।
प्रस्तावमा विभिन्न स्थानमा थप ट्रान्सफर्मर जडान, फेज सन्तुलन, आवश्यक स्थानमा थप फेज विस्तार, पुराना कन्डक्टर स्तरोन्नति, केवलिङ प्रणाली विस्तार तथा नयाँ फिडर निर्माणजस्ता योजनाहरू समावेश गरिएको छ। ती योजना कार्यान्वयन भएमा आगामी वर्ष विद्युत् आपूर्ति अझ भरपर्दो, गुणस्तरीय र अवरोधरहित हुने केन्द्रको विश्वास छ ।
रेग्मीले कर्मचारीहरूको समर्पण, स्थानीय तहसँगको सहकार्य तथा उपभोक्ताको सहयोगका कारण आर्थिक वर्ष २०८२/८३ केन्द्रका लागि उपलब्धिमूलक रहेको उल्लेख गर्दै आगामी वर्ष अझ प्रभावकारी सेवा प्रवाह, नियमित विद्युत् आपूर्ति र चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गरे ।