© 2026
विराटनगर । कोशी प्रदेशमा सत्ता साझेदार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बीच सरकार सञ्चालन, मन्त्रालय बाँडफाँट तथा आगामी कार्ययोजनाका विषयमा सहमति भएको छ। मुख्यमन्त्री क्वार्टरमा बसेको बैठकले नयाँ सरकारमा मन्त्रालय र विभागीय जिम्मेवारी टुंग्याउने अधिकार मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई दिएको छ। दुवै नेताले आपसी छलफल गरी मंगलबारसम्म मन्त्री र मन्त्रालयको अन्तिम टुंगो लगाउने सहमति भएको छ।
बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न आङ्बोको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा एमालेका तर्फबाट तिलकुमार मेन्याङ्बोलगायत नेताहरू सहभागी हुनेछन्।त्यस्तै, प्रदेश सरकारको आगामी बजेट पुनरावलोकन गर्ने सहमति भएको छ। त्यसका लागि अर्थ तथा कानुन मन्त्रालयसँग आवश्यक कानुनी र प्रशासनिक विषयमा परामर्श गरेर निष्कर्षमा पुगिने जनाइएको छ।
प्रदेशको नामकरणका विषयमा अन्य राजनीतिक दल तथा शीर्ष नेताहरूसँग संवाद अघि बढाउने र प्रदेश सभामा विचाराधीन आवश्यक विधेयकहरू सहमतिका आधारमा द्रुत गतिमा पारित गर्ने निर्णयसमेत बैठकले गरेको छ। यसैबीच, मन्त्रालय बाँडफाँटको जिम्मेवारी पाएका आङ्बो स्वयं भने नयाँ मन्त्रिपरिषद्मा सहभागी नहुने भएका छन्। उनले आफू सरकारमा जाने वा मन्त्री बन्ने दौडमा नरहेको कुरा सामाजिक सञ्जालमार्फत स्पष्ट गरिसकेका छन्।