Butwal Today

भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

२४ श्रावण २०८३, आइतबार
अ+
अ-
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार कार्यक्रमअन्तर्गत सरकारमा सहभागी पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवाद गर्नेछन् । यसमार्फत नागरिकका समस्या, गुनासा, अपेक्षा तथा सुझावलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने उद्देश्य राखिएको छ ।
कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीले सर्वसाधारण नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् । उक्त अवधिमा नागरिकले आफ्ना समस्या, गुनासा, अपेक्षा तथा सुझाव मन्त्रीसमक्ष राख्न सक्नेछन् ।
त्यसपछि साँझ ६ बजेदेखि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबिच संयुक्त बैठक हुनेछ । पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका साथै देशका समसामयिक, बहु आयामिक तथा नीतिगत विषयमा बैठकमा छलफल गरिने रास्वपाले जनाएको छ ।
रास्वपाले नागरिक, सरकार, व्यवस्थापिका र पार्टी सङ्गठनबिचको समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति निर्माण गर्ने उद्देश्य राखेको छ । साथै, मन्त्रीलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जबाफदेही बनाउने र नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने जनाएको छ ।
नागरिक, पार्टीको साङ्गठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबिच प्रभावकारी सूचना तथा कार्य योजनाको आदानप्रदान गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको रास्वपाका सहमहामन्त्री असीम शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु रहेको उल्लेख गरेको छ । ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमले जनउत्तरदायी राजनीतिक संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास पनि रास्वपाले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?