Butwal Today

डढेलो फैलिएपछि इन्डोनेसियाको राष्ट्रिय निकुञ्ज बन्द

२४ श्रावण २०८३, आइतबार
अ+
अ-

जकार्ता । इन्डोनेसियाको पूर्वी जाभामा रहेको ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि डढेलो फैलिएपछि अधिकारीहरूले राष्ट्रिय निकुञ्जमा पर्यटकको प्रवेशमा रोक लगाएका छन् ।

माउन्ट ब्रोमो नजिकै रहेको उक्त राष्ट्रिय निकुञ्जमा सोमबारदेखि लागेको डढेलोले हालसम्म करिब १७६ हेक्टर क्षेत्रफलमा क्षति पुयाएको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता अब्दुल मुहारीका अनुसार डढेलोका कारण हालसम्म मानवीय क्षति वा सम्पत्तिमा क्षति भएको विवरण प्राप्त भएको छैन । आगलागी नियन्त्रणका लागि दुईवटा पानी बम प्रहार गर्ने हेलिकप्टर परिचालन गरिएको छ ।

भिरालो भूभाग र तीव्र हावाका कारण जमिनबाट पुग्न कठिन क्षेत्रमा आगो निभाउन हवाई उद्धार तथा अग्नि नियन्त्रण अभियान सञ्चालन गरिएको प्रवक्ता मुहारीले बताए ।

यसअघि सन् २०२३ मा माउन्ट ब्रोमो क्षेत्रमा लागेको डढेलोले ५०० हेक्टरभन्दा बढी वन क्षेत्र जलेर नष्ट भएको थियो । विवाहपूर्वको तस्बिर खिच्ने क्रममा एक जोडीले आगो बाल्दा उक्त डढेलो फैलिएको थियो ।

इन्डोनेसियामा यस वर्ष सुख्खा मौसम अझ तीव्र र लामो हुने अनुमान गरिएको छ । मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी) का अनुसार एल निनो मौसमी घटनाका कारण देशमा डढेलो र खडेरीको जोखिम बढ्न सक्छ ।

यस वर्षको पहिलो छ महिनामा इन्डोनेसियामा एक लाख सात हजार हेक्टरभन्दा बढी क्षेत्रफल डढेलोबाट प्रभावित भएको बताइएको छ । यो सन् २०२३ को सोही अवधिमा डढेलोबाट प्रभावित क्षेत्रफलभन्दा करिब दोब्बर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?