© 2026
किन्शासा (कङ्गो) । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण पुष्टि भएका बिरामीको सङ्ख्या चार हजार ५३ पुगेको छ । तीमध्ये एक हजार ८५० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूले भाइरसको अभूतपूर्व प्रकोपबारे अनुसन्धान गरिरहेको बताएका छन् ।
बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको यो प्रकोप विश्वव्यापी रूपमा रेकर्ड भएको दोस्रो ठूलो इबोला प्रकोप मानिएको छ । सन् १९७६ मा पहिलो पटक इबोला भाइरस पहिचान भएयता कङ्गोमा देखिएको यो सबैभन्दा ठूलो प्रकोप हो ।
सङ्क्रमण नियन्त्रणको प्रयास जारी रहेको छ । कङ्गोका अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बुधबारसम्म इटुरी, उत्तर किवु, दक्षिण किवु, हाउट–उले र सोपो प्रान्तका ५३ स्वास्थ्य क्षेत्रमा सङ्क्रमित फेला परेका छन् । प्रकोपको केन्द्र इटुरी प्रान्तमा मात्रै पुष्टि भएका सङ्क्रमितको ८६।९ प्रतिशत रहेका छन् ।
अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसी) का महानिर्देशक जिन कासेयाले पत्रकारहरूसँगको भर्चुअल संवादमा सार्वजनिक गरिएको सङ्क्रमण र मृत्युको तथ्याङ्क वास्तविकभन्दा कम हुन सक्ने बताए ।
भाइरसमा उत्परिवर्तन भएको छ वा छैन, तथा अन्य अतिरिक्त कारणहरूले प्रकोपको गम्भीरता र तीव्र फैलावटमा भूमिका खेलेका छन् कि छैनन् भन्ने विषयमा अध्ययन सुरु गरिने उनले बताए ।
कासेयाका अनुसार नियन्त्रण प्रयासको मुख्य कमजोरी केवल आर्थिक अभाव मात्र नभई प्रभावित समुदायलाई प्रभावकारी रूपमा परिचालन गर्न नसक्नु पनि हो । उनले सङ्क्रमण देखिनेबित्तिकै परीक्षण र उपचारमा सहज पहुँच, अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई समयमै सहयोग तथा समुदायको नेतृत्वमा आधारित प्रतिक्रिया प्रणाली सुदृढ बनाउन आग्रह गरे ।
“सामुदायिक स्वामित्व नै प्रतिक्रियाको केन्द्रबिन्दु हुनुपर्छ,” विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले डीआरसीको राजधानी किन्शासा भ्रमणपछि सामाजिक सञ्जालमार्फत बताए ।
खोप र उपचार रणनीति
बुन्डिबुग्यो इबोला भाइरसका लागि हालसम्म कुनै पनि स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन । कासेयाका अनुसार अधिकारीहरूले इटुरी र उत्तर किवुका जनसङ्ख्यामा जाइर इबोला भाइरसविरुद्ध विकसित तथा स्वीकृत ‘एर्भेबो’ खोपको प्रयोग विस्तार गर्ने निर्णय गरेका छन् । यससम्बन्धी औपचारिक अध्ययन पनि जारी छ ।
डब्लुएचओको अनुसन्धान तथा विकास (आर एन्ड डी) ब्लुप्रिन्टका कार्यवाहक प्रमुख वासी मूर्तिले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा एर्भेबो खोपले प्रदान गर्न सक्ने सम्भावित ‘क्रस–प्रोटेक्सन’ सम्बन्धी नयाँ अध्ययनको समीक्षा भइरहेको बताए ।
बुन्डिबुग्यो भाइरसलाई लक्षित गरी विकास भइरहेका खोपमा पनि प्रगति भएको छ । अक्सफोर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्युट अफ इन्डियाले संयुक्त रूपमा विकास गरेको खोप जुलाई २४ देखि बेलायतमा पहिलो चरणको क्लिनिकल परीक्षणमा प्रवेश गरेको छ । मोडर्नाले विकास गरेको अर्को खोप पनि यस हप्ता क्यानाडामा पहिलो चरणको परीक्षणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।
डब्लुएचओले खोप मात्रै इबोला नियन्त्रणको उपाय नभएको स्पष्ट पार्दै निगरानी, प्रयोगशाला परीक्षण, सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सुरक्षित सामुदायिक सहभागितामार्फत मात्र प्रकोप नियन्त्रण गर्न सकिनेमा जोड दिएको छ । रासस