Butwal Today

फिलिपिन्समा पहिरोमा परी ४ जनाको मृत्यु

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

मनिला । फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

उष्णकटिबन्धीय न्यून चापीय प्रणाली (ट्रपिकल डिप्रेसन) का कारण आएको भारी वर्षाले देशको उत्तरी भागमा व्यापक प्रभाव पारेपछि विद्यालयहरू बन्द गर्नुपरेको छ ।

टापु राष्ट्र फिलिपिन्सको मुख्य टापु लुजोनमा विगत चार दिनदेखि लगातार भारी वर्षा भइरहेको जनाइएको छ । वर्षाका कारण राजधानी मनिलासहित उत्तरी प्रान्तका विभिन्न क्षेत्रमा सरकारी कार्यालय र विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो ।

मनिलाबाट उत्तरतर्फ करिब छ घण्टाको दूरीमा रहेको बेन्गुएट प्रान्तमा बिहीबार पहाडको ढिस्को खसेर एउटा सानो रेस्टुरेन्टमाथि पर्दा भान्सामा रहेका तीन कर्मचारी पुरिएका थिए ।

बेन्गुएट प्रान्तीय प्रहरीका कर्णेल डियोनिसियो बोनोयले उनीहरूको उद्धार गरिएको जानकारी दिँदै एक जना जीवित फेला परेको र दुई जनाको घटनास्थलमै मृत्यु भएको बताए ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन विभागले छिमेकी रिजाल प्रान्तमा अघिल्लो दिन गएको पहिरोमा परी अन्य दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
सरकारी मौसमविद् जोन मानालोले ‘ट्रपिकल स्टोर्म कुजिरा’ कमजोर हुँदै न्यून चापीय प्रणालीमा परिणत भएको र फिलिपिन्स सागरतर्फ अघि बढिरहेको बताए । उनका अनुसार उक्त प्रणालीसँगै प्रतिघण्टा करिब ५५ किलोमिटरको गतिमा हावा चलिरहेको छ ।

उनले तीव्र हावाले अझै पनि देशका अधिकांश भागमा असर गर्न सक्ने चेतावनी दिए । फिलिपिन्स प्रशान्त महासागरको चक्रवात क्षेत्र (साइक्लोन बेल्ट) मा पर्ने पहिलो ठूलो भूभाग हो । यहाँ हरेक वर्ष औसतमा २० वटा आँधी र टाइफुन आउने गर्छन्, जसका कारण विपद्को उच्च जोखिममा रहेका लाखौँ मानिस निरन्तर प्रभावित हुने गरेका छन् ।

वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरू थप बारम्बार, लामो समयसम्म रहने र अझ तीव्र बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?