© 2026
काठमाडौँ । राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उक्त विधेयक पेस गरिन् ।
मन्त्री चौधरीले नेपालको संविधानको भाग–३ अन्तर्गत खाद्यसम्बन्धी हक, उपभोक्ताको हक, स्वास्थ्यसम्बन्धी हक, स्वच्छ वातावरणको हक र सम्पत्तिको हकसम्बन्धी संवैधानिक व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय तथा सहकार्यमा पशु तथा माछामा फैलिने सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गरी पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरण स्वास्थ्य संरक्षण गर्न यो विधेयक आवश्यक रहेको बताइन् ।
उनले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न, पशु तथा पशुजन्य पदार्थको व्यापार प्रवर्द्धन गर्न तथा पशु सङ्क्रामक रोग नियन्त्रणका लागि कानुनी व्यवस्था आवश्यक भएकाले विधेयक पेस गरिएको स्पष्ट पारिन् ।
राष्ट्रियसभाको अर्को बैठक साउन २२ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।