Butwal Today

कङ्गोमा इबोला प्रकोपसँग लड्न थप सहयोगका लागि डब्लुएचओको आह्वान

२० श्रावण २०८३, बुधबार
अ+
अ-

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपसँग लड्न विभिन्न तहबाट थप सहयोगको आह्वान गरेको छ । आर्थिक अभावका कारण रोग नियन्त्रण तथा प्रतिकार्य क्षमतामा असर परेको जनाएको छ ।

डब्लुएचओका प्रवक्ता तारिक जसारेभिकले दुर्भाग्यवश इबोला प्रकोप अझै पनि नियन्त्रण क्षमताभन्दा बाहिर विस्तार भइरहेको बताएका छन् । उनले आर्थिक सहयोगका साथै प्रतिकार्यका सबै क्षेत्रमा थप स्रोत आवश्यक रहेको स्पष्ट पारे ।

उनले कङ्गोमा इबोला सङ्क्रमणका तीन हजार ७४८ पुष्टि भएका घटना रेकर्ड गरिएको जानकारी दिए । तीमध्ये एक हजार ६५७ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ७०८ जना निको भएका छन् । थप २२७ नयाँ सङ्क्रमण पुष्टि भएका छन् । यससँगै १७ हजार मानिस निगरानीमा रहेको र तीमध्ये ८० प्रतिशतभन्दा बढीको दैनिक परीक्षण भइरहेको बताइएको छ ।

देशका स्थानीय अधिकारीहरूले डब्लुएचओ तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा रोग नियन्त्रणका विभिन्न उपाय कार्यान्वयन गरिरहेको जनाइएको छ । यद्यपि, प्रकोप नियन्त्रण तथा प्रतिकार्य गतिविधि प्रभावकारी बनाउन आवश्यक आर्थिक तथा अन्य सहयोग अझै अपर्याप्त रहेको उल्लेख गरिएको छ ।

यसैबीच, डब्लुएचओले विशेषगरी ठूलो सङ्ख्यामा मानिसको निरन्तर आवागमन र सीमापार सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता, निगरानी र तयारीका उपायहरू कायम राख्नुपर्ने आवश्यकता दोहोर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?