Butwal Today

बजारमा ग्यास अभाव, कालोबजारी रोक्न बुटवलमा अनुगमन

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

बुटवल। बजारमा ग्यासको चरम अभाव सिर्जना भएको छ। बुटवलमा ग्यासको अभाव चर्किएपछि सरकारी अधिकारीहरुले बजारमा अनुगमन गरेका छन्।

बुटवलका १० वटा ग्यास वितरण गर्ने पसलहरु अनुगमन गर्दा दुईवटामा मात्रै भरेका केही ग्यासका सिलिण्डर भेटिएका छन्। अन्यमा भने खाली सिलिण्डरमात्रै फेला परेको इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत सागर गौतमले जानकारी दिए। उनका अनुसार अधिकांश पसलमा खाली सिलिण्डर छन्।

उनले उपभोक्ताले वास्तविक आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चित गरेका कारण ग्यास अभाव भएको बताए। ‘बजारमा ग्यास आपूर्ति भइरहेको छ, तर अभाव पनि उत्तिकै देखिएको छ, उनले भने-यसअघि नै अभाव हुनसक्ने अनुमानका आधारमा आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चित भएको हो जस्तो देखिन्छ।’

निगमले ३१ असार २०८३ देखि साविककै १४.२ केजी ग्यास दिने निर्णय गरेको ३ हप्ता पुग्दा नपुग्दै अभाव देखिनुको कारणबारे खोजी गर्न र अभाव न्युनीकरण गर्नका लागि अनुगमन गरेको उनले बताए।

अनुगमनका क्रममा ग्यास बिक्रेताहरुले भने कम्पनीहरुले नियमित आपूर्ति गरेपनि विगतमा भन्दा माग बढी भएका कारण अभाव भएको बताउँछन्। लक्ष्मी ग्यास सप्लायर्स बुटवलका सञ्चालक सहदेव श्रेष्ठले २ सय जति खाली सिलिण्डर रहेको बताए। उनले भने-‘यसअघि जति ग्यास आइरहेको थियो त्यो भन्दा बढी आएमा मात्रै हालको समस्या समाधान हुन्छ, होइन भने अरु २ महिना यो समस्या रहीरहन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?