© 2026
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–१ पर्रोहा टोल यतिबेला हरियालीले भरिएको छ। बगैँचाभरि लटरम्म फलेका ताइवान पिंक प्रजातिका अम्बाले यहाँ पुग्ने जोकोहीको ध्यान तान्छन्। यो कुनै निजी फार्मको दृश्य होइन, ४७ जना किसानको साझा मेहनत, लगानी र प्रतिबद्धताले फस्टाएको व्यावसायिक अम्बा खेतीको उदाहरण हो।
दुई वर्षअघि किसानहरूले आत्मनिर्भर बहुउद्देश्यीय कृषक समूह गठन गरी करिब पौने तीन बिघा जग्गा नौ वर्षका लागि लिजमा लिएर सामूहिक रूपमा अम्बा खेती सुरु गरेका थिए। रुपन्देहीमै पहिलोपटक यसरी गरिएको सामूहिक अम्बा खेती पूर्ण रूपमा अर्गानिक विधिमा आधारित छ। रासायनिक विषादी प्रयोग नगरी उत्पादन गरिएको ताइवान पिंक प्रजातिको अम्बाले अहिले राम्रो उत्पादन दिन थालेको छ। अर्गानिक उत्पादन भएकाले यसको स्वाद र गुणस्तरप्रति उपभोक्ताको विश्वास पनि बढ्दै गएको छ। साझा श्रम, साझा लगानी र साझा जिम्मेवारी नै यस अभियानको मुख्य आधार हो। बगैँचाको स्याहारसुसार, गोडमेल, मल व्यवस्थापन, उत्पादन संकलनदेखि बजारीकरणसम्मका काम किसानहरूले मिलेर गरिरहेका छन्। व्यक्तिगत रूपमा खेती गर्दा लाग्ने लागत, जनशक्तिको अभाव र व्यवस्थापनका चुनौती समूहमा काम गर्दा धेरै सहज भएको उनीहरूको अनुभव छ।
समूहका संस्थापक अध्यक्ष एकादेब पौडेलका अनुसार सामूहिक खेतीले किसानबीच सहकार्यको भावना बलियो बनाएको छ। एक्लै खेती गर्दा आउने धेरै समस्या समूहमा मिलेर समाधान गर्न सकिएको र त्यसले उत्पादन बढाउन पनि मद्दत पुगेको उनको भनाइ छ। त्यसो त सामुहिक कृषि खेति अभियानमा महिलाहरुको सहभागिता पनि उल्लेखनीय छ। कृषक लक्ष्मी न्यौपानेका अनुसार सामूहिक खेतीले महिलालाई उत्पादनमूलक काममा सक्रिय बनाएको छ। अर्गानिक अम्बाले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको भए पनि उत्पादनअनुसारको उचित मूल्य, सहज बजार र आवश्यक सरकारी सहयोग अझै पर्याप्त हुन नसकेको उनको गुनासो छ।
सामूहिक खेतीले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पनि आकर्षित गरेको छ। विदेशबाट फर्केका युवा युबराज अर्यालले विदेशमा वर्षौं बिताएपछि आफ्नै गाउँमा केही गर्ने उद्देश्यले यस अभियानमा जोडिएको बताउँछन्। उचित योजना, मेहनत र बजारको सुनिश्चितता भए कृषिबाट पनि सम्मानजनक आम्दानी गर्न सकिने विश्वासले आफूलाई स्वदेशमै टिकाएको उनको भनाइ छ। व्यावसायिक कृषि विस्तारका लागि चुनौती भने अझै कायमै छन्। उत्पादन बढ्दै जाँदा उचित बजार, सिँचाइ, आधुनिक कृषि प्रविधि र अनुदानको अभावले किसानलाई समस्या परेको छ। समूहका अध्यक्ष प्रेम सुबेदीका अनुसार उत्पादनदेखि बजारीकरण, सिँचाइ, प्रविधि र अनुदानसम्म राज्यले प्रभावकारी सहयोग गरे सामूहिक खेतीलाई अझ विस्तार गर्न सकिनेछ। यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै युवालाई कृषि पेशातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ। अहिले बगैँचामा अम्बा टिप्न किसानलाई भ्याइनभ्याइ छ।
सामूहिक सोच, अर्गानिक उत्पादन र युवाको सक्रिय सहभागिताले सैनामैनाको यो अम्बा बगैँचा सफल कृषि अभ्यासका रूपमा स्थापित हुँदै गएको छ। राज्यको आवश्यक साथ, सहज बजार र उपयुक्त नीति पाए यस्ता सामूहिक कृषि अभियानले गाउँमै रोजगारी सिर्जना गर्ने, विदेशिएका युवालाई स्वदेशमै फर्काउने र नेपाली कृषिको भविष्यलाई थप आशावादी बनाउनेमा कृषकहरुको विश्वास छ । सैनामैनाको यो हरियो बगैँचाले त्यही सम्भावनाको सन्देश दिइरहेको छ।