© 2026
बुटवल । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा इनरव्हिल क्लब अफ मिडटाउन बुटवलले स्तनपानसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। कालिकानगरस्थित नर्मदेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा वक्ताहरूले स्तनपान शिशुको स्वास्थ्य, पोषण र समग्र विकासका लागि अपरिहार्य रहेको भन्दै यसको प्रभावकारी अभ्यासलाई परिवार, समुदाय र स्वास्थ्य संस्थाको सहकार्यबाट थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा क्लबकी अध्यक्ष सुशीला पोखरेलले स्तनपान शिशुको अधिकार मात्र नभई स्वस्थ समाज निर्माणको आधार भएको बताइन्। विश्व स्तनपान सप्ताहले आमा–शिशुको स्वास्थ्य प्रवर्द्धनसँगै परिवार, समुदाय र कार्यस्थलमा स्तनपानमैत्री वातावरण निर्माण गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले स्तनपान प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन्।
प्रमुख अतिथि तथा इनरव्हिल क्लब अफ बुटवलकी पूर्वअध्यक्ष भारती जोशीले नवजात शिशुलाई जन्मेको पहिलो घण्टादेखि नै स्तनपान गराउनुपर्नेमा जोड दिँदै आमाको दूधभन्दा उत्तम आहार अर्को हुन नसक्ने उल्लेख गरिन्। मुख्य प्रशिक्षक वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। मनिषा महर्जनले जन्मेदेखिका पहिलो छ महिनासम्म शिशुलाई आमाको दूधबाहेक अन्य कुनै पनि खानेकुरा वा पानी आवश्यक नपर्ने वैज्ञानिक तथ्य प्रस्तुत गरिन्। नियमित स्तनपानले शिशुलाई संक्रमणबाट जोगाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले स्तनपानसम्बन्धी भ्रम र गलत धारणालाई वैज्ञानिक जानकारीमार्फत हटाउनुपर्ने उनले बताइन्।
विशिष्ट अतिथि तथा नेशनल मल्टी स्पेसालिटी क्लिनिकका सञ्चालक लक्ष्मण घिमिरेले स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्य संस्था र समुदायबीच समन्वय आवश्यक रहेको धारणा राखे। डा. सुदीप सापकोटाले पनि स्तनपानले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउने र दीर्घकालीन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने जानकारी दिए।
कार्यक्रम संयोजक राधा भट्टराईका अनुसार कार्यक्रममा करिब ७० जना महिलाको सहभागिता रहेको थियो। सहभागीलाई स्तनपानका सही अभ्यास, शिशु पोषण तथा आमाको स्वास्थ्यसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको उनले बताइन्।हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताहको यस वर्षको मूल नारा “जीवनको दिगो सुरुवातका लागि स्तनपान प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔँ” रहेको छ।