© 2026
बुटवल: नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल कांग्रेसका मन्त्रीले राजीनामा दिएका छन्।
कांग्रेसका पाँचै जना मन्त्रीले आफ्नो संसदीय दललाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्।
कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन्।
दलको तर्फबाट भने भोलि सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाउने तयारी रहेको कांगेस प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन्। उनका अनुसार कांग्रेसबाट सरकारमा सहभागी ५ जनाकै राजीनामा दलको कार्यालयमा प्राप्त भएसकेकाले सोमबार मुख्यमन्त्रीलाई बुझाइनेछ।