© 2026
पाल्पा । सङ्घीय सरकारको योजनाअन्तर्गत सञ्चालित सुन्तला जातका फलफूल विकास केन्द्रमा सुन्तला जातका बिरुवाको माग बढेसँगै केन्द्रको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको छ ।
अन्नबालीलाई वन्यजन्तुबाट जोगाउन कठिन हुन थालेपछि किसानहरू सुन्तला, कागती र जुनार खेतीतर्फ आकर्षित भएका छन् । यसै कारण बिरुवाको माग बढ्नुका साथै केन्द्रको राजस्वमा पनि वृद्धि भएको हो ।
सङ्घीय सरकारले अत्याधुनिक प्रविधिबाट बिरुवा उत्पादन गर्ने केन्द्रका रूपमा विकास गरेपछि यहाँ उत्पादन भएका बिरुवा २० भन्दा बढी जिल्लामा पुग्ने गरेका छन् । केन्द्रका बागवानी विकास अधिकृत तथा सूचना अधिकारी सुदीप देवकोटाका अनुसार गत आर्थिक वर्षमा सुन्तलाका ४० हजार ६ सय ५०, कागतीका ११ हजार ५ सय ९८ र जुनारका ९ सय ३६ वटा कलमी बिरुवा बिक्रीबाट ४६ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
उनका अनुसार पाल्पाका स्थानीय तहहरूले बिरुवा खरिदका लागि समन्वय गरेमा बिरुवाको खपतसँगै राजस्व पनि थप बढ्न सक्छ । बाहिरी जिल्लाका किसानहरूले यहाँ उत्पादन भएका बिरुवा रोग तथा किराको प्रकोपबाट मुक्त हुने र समयमै राम्रो उत्पादन दिने विश्वासका कारण आन्तरिक बजारभन्दा बाहिरी जिल्लामा बढी खरिद गर्ने गरेका छन् ।
केन्द्र प्रमुख जोगेन्द्र कान्दुका अनुसार केन्द्रमा तन्तु प्रजनन (टिस्यु कल्चर) प्रविधिबाट समेत बिरुवा उत्पादन गरिन्छ । साथै रोग तथा किराको पहिचान र परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा रहेकाले किसानहरूको केन्द्रप्रतिको विश्वास बढेको र लक्ष्यअनुसार प्रगति हासिल भएको उनले बताए ।
केन्द्रका अनुसार गत आर्थिक वर्षमा सुन्तला जातका बिरुवा बिक्रीबाट ४२ लाख रुपैयाँ, ताजा फलफूल बिक्रीबाट ४५ हजार रुपैयाँ, तरकारीको बीउ बिक्रीबाट ४२ हजार रुपैयाँ, तरकारीका बिरुवा बिक्रीबाट ५२ हजार रुपैयाँ, कफीदाना बिक्रीबाट २१ हजार रुपैयाँ तथा विभिन्न बिरुवाको रोग परीक्षणबाट २ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
वागवानी केन्द्रका रूपमा स्थापित यस कार्यालयले स्थापनाको लामो समयसम्म हजार रुपैयाँमै सीमित राजस्व सङ्कलन गर्ने गरेको पुराना कर्मचारीहरू बताउँछन् । तर पछिल्ला वर्षहरूमा बिरुवा उत्पादन र बिक्री बढ्दै जाँदा केन्द्रको राजस्व पनि निरन्तर वृद्धि हुँदै आएको छ ।
केन्द्रका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/ ८१ मा बिरुवा वितरणबाट ३६ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ४० हजार २ सय बिरुवा वितरणबाट १२ लाख ९२ हजार रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ४१ हजार ३ सय ७९ बिरुवा वितरणबाट २० लाख ३५ हजार रुपैयाँ तथा आर्थिक वर्ष २०७७/७८ मा ९ हजार १ सय ८२ वटा बिरुवा वितरणबाट ५ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको केन्द्रले जनाएको छ ।