© 2026
काठमाडौं। प्रदेश सरकारको नयाँ समीकरण र मन्त्रालयको भागबण्डा टुंग्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच उच्चस्तरीय छलफल हुने भएको छ।
एमाले र नेकपाबीच प्रदेश सरकारमा मिलेर जाने सहमति भइसके पनि नेतृत्व, मन्त्रालयको बाँडफाँट र साझेदारीको मोडालिटीबारे अन्तिम निर्णय हुन बाँकी छ। तीन शीर्ष नेताले यही विषयमा छलफल गरी सहमति जुटाउने तयारी गरेका हुन्।शुक्रबार नै बैठक बस्ने तयारी भए पनि पुष्पलाल श्रेष्ठ स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा नेताहरू व्यस्त भएपछि छलफल स्थगित भएको थियो।
नेकपाका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीका अनुसार शीर्ष नेताहरूबीच निरन्तर संवाद भइरहेको छ र अब प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटबारे लिखित सहमतिसहित निष्कर्ष निकालिनेछ। एमाले अध्यक्ष ओलीको सचिवालयले पनि नेकपा नेतृत्वसँग नियमित संवाद भइरहेको र एक–दुई दिनभित्र प्रदेश सरकारको नयाँ समीकरणबारे सहमति जुट्ने अपेक्षा गरेको जनाएको छ।
यता नेकपाले कांग्रेससँग पनि समानान्तर छलफल जारी राखे पनि कांग्रेसले तीन दलीय प्रदेश सरकारको प्रस्ताव अस्वीकार गरेको छ। हाल सुदूरपश्चिम, बागमती र कर्णालीमा कांग्रेस–एमाले गठबन्धन भंग भइसकेको छ भने लुम्बिनी, कोशी र गण्डकीमा भने अझै गठबन्धन कायम छ। यही कारण एमाले र नेकपाले ती प्रदेशमा नयाँ समीकरण बनाउने तयारी गरिरहेका छन्।
मुख्यमन्त्रीको नेतृत्वबारे भने अझै विवाद कायम छ। एमालेले कोशी, कर्णाली, लुम्बिनी र गण्डकीको नेतृत्व दाबी गरेको छ भने नेकपाले आफ्नो संसदीय शक्ति बढी भएका प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ। यस विषयमा ओली, प्रचण्ड, माधव नेपालसहित दुवै दलका शीर्ष नेताहरूले अन्तिम निर्णय गर्ने तयारी गरेका छन्।