© 2026
भैरहवा । वैदेशिक रोजगारी नेपाली युवाका लागि रोजगारी, आयआर्जन र परिवारको आर्थिक अवस्था सुधार गर्ने महत्त्वपूर्ण माध्यम बनेको छ ।
तर, सही सूचना र प्रक्रियाको अभाव, ठगी, मृत्यु, अङ्गभङ्ग, अलपत्र तथा सम्पर्कविहीन हुनेजस्ता समस्याले वैदेशिक रोजगारीको यात्रा धेरै परिवारका लागि पीडादायी बन्ने गरेको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सञ्चालन गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रुपन्देहीमा आप्रवासी तथा उनीहरूका परिवारका लागि महत्त्वपूर्ण सहारा बन्दै गएको छ ।
नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबिचको द्विपक्षीय सहकार्यमा सञ्चालित सामी कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय तथा सहकार्यमा वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना, न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श तथा सीपसम्बन्धी सेवामा सहजीकरण गर्दै आएको छ ।
रुपन्देहीका १३ स्थानीय तहमा कार्यक्रमको सघन कार्यान्वयन भइरहेको छ भने जिल्लाका १६ स्थानीय तहमा सूचना तथा न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र सीप तालिमका लागि सहजीकरण गरिएको छ ।
वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सूचना र सही परामर्श प्राप्त गर्न नसक्दा धेरै नेपाली श्रमिक ठगीमा पर्ने, गलत कागजातका आधारमा विदेश जाने तथा समस्यामा परेपछि उद्धार र न्यायका लागि भौतारिनुपर्ने अवस्था देखिन्छ ।
सामी कार्यक्रमले यस समस्यालाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय बुटवलमा रहेका आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रमार्फत सूचना तथा न्यायमा पहुँचसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
परियोजनाकी सूचना तथा सामाजिक परामर्शकर्ता लक्ष्मी गुप्ताले उपलब्ध गराएको तथ्याङ्क अनुसार रुपन्देहीमा २० हजार ७०२ जनाले वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा जानकारी प्राप्त गरेका छन् । तीमध्ये ६ हजार ३०४ महिला र १४ हजार ३९८ पुरुष रहेका छन् ।
त्यस्तै, समुदाय तहमा सञ्चालन गरिएको सूचना प्रवाह कार्यक्रममार्फत ५ हजार ५६१ जनासम्म वैदेशिक रोजगारीसम्बन्धी जानकारी पु¥याइएको छ । यसमा ३ हजार १९५ महिला र ३ हजार ३६६ पुरुष सहभागी भएका छन् ।
समुदायस्तरमा सूचना प्रवाह गर्दा महिला स्वयंसेविका, समाजका अगुवा, विभिन्न समूह, विद्यालय तथा समुदायका अन्य सरोकारवालालाई सहभागी गराइने गरिएको गुप्ताले जानकारी दिइन । यसले वैदेशिक रोजगारीसम्बन्धी जानकारीलाई स्रोत केन्द्रमा सीमित नराखी गाउँ तथा समुदायसम्म पु¥याउन सहयोग गरेको उनको भनाई छ ।
वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोग्ने समस्या विविध छन् । कतिपय श्रमिक ठगीमा पर्छन्, कतिपयको विदेशमा मृत्यु हुन्छ । केही अङ्गभङ्ग हुन्छन् भने कतिपय अलपत्र पर्छन् वा परिवारसँग सम्पर्कविहीन हुन्छन् ।
यस्ता समस्यामा परेका आप्रवासी श्रमिक तथा परिवारलाई न्याय र आवश्यक सेवामा पहुँच पु¥याउन सामी कार्यक्रमले सहजीकरण गर्दै आएको छ । तथ्याङ्क अनुसार रुपन्देहीमा ३६५ वटा मुद्दामा न्यायमा पहुँचका लागि सहजीकरण गरिएको छ । तीमध्ये ६९ महिला र २९६ पुरुष रहेका छन् । मृत्यु, ठगी, अङ्गभङ्ग, अलपत्र, सम्पर्कविहीन, उद्धार तथा कागजात जाँचलगायतका विषयमा सहजीकरण गरिएको कार्यक्रम संयोजक गुप्ताले जानकारी दिइन ।
त्यस्तै, आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका २२९ वटा न्यायसम्बन्धी मुद्दामा सहजीकरण गरिएको छ । यसमा २१ महिला र २०८ जना पुरुष रहेका छन् । सहजीकरणपछि पीडित तथा परिवारले १२ करोड ९१ लाख २४ हजार ७९९ रूपैयाँ प्राप्त गरेका छन् ।
सामी कार्यक्रमले पीडितले सम्बन्धित निकायसम्म पुग्न, आवश्यक कागजात तयार गर्न, कानुनी प्रक्रिया बुझ्न तथा क्षतिपूर्ति वा अन्य हक अधिकार प्राप्त गर्न सहजीकरण गर्ने गरेको छ ।
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नेपाली परिवारको आर्थिक अवस्था सुधारमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । तर, विदेशबाट आएको रकमको उचित व्यवस्थापन र उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्दा विप्रेषणको ठूलो हिस्सा दैनिक उपभोगमै खर्च हुने गरेको छ ।
यस चुनौतीलाई सम्बोधन गर्न सामी कार्यक्रमले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । रुपन्देहीमा २ हजार २०७ जनालाई वित्तीय साक्षरता प्रदान गरिएको छ । सहभागी मध्ये १ हजार ७१० महिला र ४९७ जना मात्र पुरुष रहेका छन् ।
“वित्तीय साक्षरता कार्यक्रममार्फत वैदेशिक रोजगारीबाट प्राप्त रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने, बचत गर्ने, सही वित्तीय निर्णय लिने तथा आम्दानीका वैकल्पिक स्रोत खोज्ने विषयमा जानकारी प्रदान गरिएको छ ।” गुप्ताले भनिन् “विशेषगरी वैदेशिक रोजगारीबाट विप्रेषण प्राप्त गर्ने परिवार तथा महिलालाई वैदेशिक रोजगारीमा निर्भरता कम गर्दै आयआर्जनका अन्य विकल्प खोज्न प्रेरित गरिएको छ ।”
यसले वैदेशिक रोजगारीबाट प्राप्त रकमलाई केवल उपभोगमा खर्च नगरी कृषि, व्यवसाय, उद्यम तथा अन्य उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने वातावरण निर्माण गर्न सहयोग पु¥याएको उनको दाबी छ ।
वैदेशिक रोजगारीका क्रममा हुने मृत्यु, ठगी, अङ्गभङ्ग, अलपत्र तथा सम्पर्कविहीन जस्ता घटनाले श्रमिक मात्र नभई उनीहरूको परिवारमा समेत गहिरो मानसिक असर पार्ने गर्छ । आर्थिक समस्यासँगै पारिवारिक तनाव, चिन्ता, सामाजिक दबाब र भविष्यप्रतिको अन्योलले परिवारका सदस्यको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ ।
यस्तो अवस्थामा सामी कार्यक्रमले मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराउँदै आएको छ । रुपन्देही जिल्लामा यस्ता ११ जना मनोसामाजिक परामर्शकर्ता रहेको परियोजनाकी रुपन्देही संयोजक सीता पन्थले बताइन ।
तथ्याङ्क अनुसार रुपन्देहीमा १४२ जनाले व्यक्तिगत मनोसामाजिक परामर्श सेवा प्राप्त गरेका छन् । तीमध्ये २३ महिला र ११९ पुरुष रहेका छन् । त्यस्तै, समूहगत रूपमा ८७२ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।
कार्यक्रमले व्यक्तिगत समस्या सुन्ने, भावनात्मक तनाव व्यवस्थापन गर्ने तथा आवश्यक परे थप सहयोगका लागि सम्बन्धित निकायमा समन्वय गर्ने कार्यले पीडित तथा परिवारलाई मानसिक रूपमा बलियो बन्न सहयोग पु¥याएको दाबी पन्थको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सूचना र परामर्श मात्र पर्याप्त हुँदैन । समस्या उत्पन्न भएपछि कानुनी उपचार र न्यायमा सहज पहुँच आवश्यक हुन्छ । यसका लागि सामी कार्यक्रमले प्रहरी तथा स्थानीय तहका न्यायिक समितिसँग समन्वय र अन्तरक्रिया गर्दै आएको छ ।
वैदेशिक रोजगारीसम्बन्धी ठगी, श्रमिकका समस्या तथा पीडितलाई न्याय दिलाउने प्रक्रियाका विषयमा सम्बन्धित निकायबिच सहकार्य र समन्वय बढाउने उद्देश्यले विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन भएका छन् । यसले आप्रवासी श्रमिकका समस्या समाधानमा स्थानीय तह, प्रहरी, प्रशासन तथा अन्य सरोकारवाला निकायबिच सहकार्यको वातावरण निर्माण गरेको छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश व्यक्तिका लागि सही सूचना पहिलो सुरक्षा हो । कार्यक्रम संयोजक पन्थीका अनुसार कुन देशमा कुन प्रकारको रोजगारी उपलब्ध छ, रोजगारदाता र म्यानपावर कम्पनीको वैधानिकता कसरी जाँच गर्ने, श्रम स्वीकृति प्रक्रिया के हो, सम्झौतामा के–के उल्लेख हुन्छ र समस्यामा परे कहाँ सम्पर्क गर्ने भन्ने जानकारीले श्रमिकलाई सम्भावित जोखिमबाट जोगाउन सक्छ । यस्तो सूचना श्रमिकले बुझ्नै पर्ने र यसको लागि सामी कार्यक्रम उपयुक्त गन्तव्य रहेको छ ।
तर, अझै पनि धेरै व्यक्ति अनौपचारिक स्रोत, दलाल वा सामाजिक सञ्जालबाट प्राप्त अपुष्ट सूचनाका आधारमा विदेश जाने गरेका छन् । यसले ठगी र शोषणको जोखिम बढाएको उनको भनाई छ ।
“यही कारण सामी कार्यक्रमले समुदायस्तरमा सूचना प्रवाहलाई प्राथमिकता दिएको छ । स्रोत केन्द्र तथा उपकेन्द्रमार्फत प्रदान गरिने सेवासँगै समूह, विद्यालय, सहकारी, आमा समूह र समुदायमा वैदेशिक रोजगारीसम्बन्धी जानकारी पु¥याइएको छ ” उनले भनिन् ।
कार्यक्रमका विभिन्न गतिविधिमा महिलाको सहभागिता उल्लेख्य देखिएको छ । सूचना पहुँच, समुदायस्तरको सूचना प्रवाह, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शमा महिलाको सहभागिताले वैदेशिक रोजगारीको प्रभाव परिवार र समुदायमा महिलामार्फत पनि गहिरो रूपमा जोडिएको देखाएको पन्थको जिकिर छ ।
विशेषगरी विदेशमा रहेका परिवारका सदस्यले पठाएको रकम व्यवस्थापन गर्ने, घरायसी अर्थतन्त्र सञ्चालन गर्ने तथा वैकल्पिक आयआर्जनका गतिविधिमा संलग्न हुने महिलालाई वित्तीय साक्षरताले महत्त्वपूर्ण सहयोग पु¥याएको छ । यसले महिलालाई विप्रेषणको उपभोक्ता मात्र नभई आर्थिक निर्णयकर्ता र उद्यमशीलताका सम्भावित साझेदारका रूपमा अघि बढाउन मद्दत गरेको पन्थको भनाइ छ ।