© 2026
पाल्पा ।
पाल्पाको निस्दी गाउँपालिकामा चिउरी अहिले केवल वनमा पाइने रुख मात्र होइन, ग्रामीण समुदायको आर्थिक जीवन बदल्ने भरोसायोग्य आयआर्जनको स्रोत बनेको छ । एक समय घरायसी प्रयोजनका लागि मात्रै प्रयोग हुने चिउरीको दाना अहिले नगदे बालीसरह आम्दानी दिने माध्यम बनेपछि स्थानीयको जीवनशैलीसँगै वन संरक्षणप्रतिको सोचसमेत परिवर्तन भएको छ ।
निस्दी गाउँपालिका–५, मित्यालस्थित थुम्काडाँडा सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध ३६ घरपरिवारका लागि चिउरीको दाना वार्षिक पेन्सन जस्तै बनेको छ । प्रत्येक वर्ष जेठ–असारमा वनबाट दाना सङ्कलन गरी बिक्री गर्ने उनीहरू त्यसबाट प्राप्त आम्दानीले घर खर्च, खाद्यान्न, खाने तेलदेखि बालबालिकाको शैक्षिक सामग्रीसम्म खरिद गर्न सक्षम भएका छन् ।
स्थानीय खमकुमारी खाम्चाले यस वर्ष चिउरीको दाना बिक्रीबाट करिब ७ हजार रुपैयाँ आम्दानी गरिन् । उनले यही रकमबाट वर्षभरि पुग्ने खाने तेल खरिद गरेको बताइन् । गत वर्षको तुलनामा यस पटक करिब २ हजार रुपैयाँ बढी आम्दानी भएको भन्दै उनी निकै उत्साहित देखिन्छिन् ।
त्यस्तै, चनकुमारी सोतीले गत वर्ष ६४ किलो दाना बिक्री गरेकी थिइन् भने यस वर्ष ७० किलो बिक्री गरिन् । पहिले काठको कोलमा तेल पेल्ने परम्परा रहे पनि अहिले दाना नै बिक्री गर्दा श्रम कम लाग्ने र नगद आम्दानी हुने भएकाले अधिकांश स्थानीय यही अभ्यासतर्फ आकर्षित भएका छन् ।
स्थानीयका अनुसार केही वर्षअघि चितवनबाट व्यापारीहरू आएर प्रतिकिलो ५५ रुपैयाँका दरले चिउरीको दाना खरिद गर्न थालेपछि यसको व्यावसायिक महत्त्व उल्लेखनीय रूपमा बढेको हो । बजार सुनिश्चित भएपछि गाउँलेहरूले चिउरीको संरक्षण, नयाँ बिरुवा रोपण तथा वन व्यवस्थापनमा थप चासो दिन थालेका छन् ।
स्थानीय तेजमाया खाम्चाका अनुसार अहिले वन क्षेत्रमा जथाभाबी चरिचरन रोकिएको छ भने नयाँ बिरुवा रोप्ने अभियानलाई प्राथमिकता दिइएको छ । निस्दी सब–डिभिजन वन कार्यालयका प्रमुख नन्दप्रसाद अधिकारीका अनुसार सामुदायिक वनका विभिन्न प्लटमा हालसम्म करिब १ हजार २ सय बिरुवा रोपिएकोमा यस वर्ष मात्रै थप ३ सय बिरुवा रोपिएका छन् । वन कार्यालयको समन्वयमा यस क्षेत्रभरि ३ हजारभन्दा बढी चिउरीका बिरुवा रोपिसकिएको छ ।
थुम्काडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रदीप सोतीका अनुसार राम्रोसँग हुर्किएको एउटा चिउरीको बोटबाट वार्षिक ४ सयदेखि ५ सय किलोसम्म बियाँ उत्पादन हुन सक्छ । यही सम्भावनालाई मध्यनजर गर्दै सामुदायिक वनलाई चिउरीको मातृ वनका रूपमा विकास गरिएको छ ।
वि.सं. २०५१/०५२ मा सामुदायिक वन स्थापना गर्दा स्थानीयलाई वन संरक्षणको महत्त्व बुझाउन कठिन भए पनि अहिले अवस्था पूर्णतः बदलिएको सामाजिक अभियन्ता तथा स्थानीय सरकारका प्रतिनिधि सन्तवीर सुनारी बताउँछन् । उनका अनुसार अहिले समुदाय आफैँ वन संरक्षणमा जिम्मेवार बनेको छ र त्यसको प्रत्यक्ष आर्थिक लाभ पनि उठाइरहेको छ ।
चिउरीबाट हुने आम्दानीले बालबालिकाको शिक्षामा समेत सकारात्मक प्रभाव पारेको छ । स्थानीय इनमाया खाम्चाका अनुसार विद्यालय जाने बालबालिकाले आफैँ दाना सङ्कलन गरी बिक्री गर्छन् र त्यसबाट प्राप्त रकमले कापी, किताब, पोसाक तथा खेलकुद सामग्री खरिद गर्ने गरेका छन् । यसले उनीहरूमा श्रमप्रतिको सम्मान र आत्मनिर्भर बन्ने संस्कारसमेत विकास गरेको छ ।
वन संरक्षणलाई प्रभावकारी बनाउन सामुदायिक वन उपभोक्ता समूहले कडा नियम लागू गरेको छ । वनमा जथाभाबी घाँस–दाउरा काट्ने, बस्तुभाउ चराएर बिरुवामा क्षति पुर्याउने वा संरक्षणमा लापरबाही गर्ने व्यक्तिलाई ५ सय रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।
चिउरीको वन विस्तारसँगै यहाँ मौरी पालन व्यवसाय पनि फस्टाउन थालेको छ । प्रशस्त फूल उपलब्ध हुने भएकाले मौरी पालनका लागि अनुकूल वातावरण बनेको छ । स्थानीय सरकारले अनुदानमा मौरीका घार वितरण गरेपछि धेरै कृषक यस व्यवसायतर्फ पनि आकर्षित भएका छन्।
यद्यपि, पाल्पाका रिब्दीकोट, ठिमुरे, तिनाउ, कचललगायत अन्य क्षेत्रमा भने चिउरीको पर्याप्त संरक्षण र व्यावसायिक उपयोग हुन सकेको छैन । सम्बन्धित निकायले निस्दीको सफल अभ्यासलाई अन्य क्षेत्रमा विस्तार गर्न सके ग्रामीण आयआर्जन बढ्नुका साथै वन संरक्षण, जैविक विविधता, मौरी पालन र वातावरणीय सन्तुलनमा समेत महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ ।