Butwal Today

एसीसी यू–१९ महिला क्रिकेट : युएईसँग नेपाल पराजित

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

बर्दघाट । मलेसियामा जारी एसीसी महिला यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाल युएई सँग सुपर ओभरमा पराजित भएको छ ।

शुक्रबार भएको खेल निर्धारित २० ओभरमा बराबरी भएपछि निर्णय सुपर ओभरबाट गरिएको थियो । सुपर ओभरमा नेपालको ब्याटिङ कमजोर रहँदा दुई विकेट गुमाएर ६ रन मात्र बनाउन सक्यो । जवाफमा युएई ले ७ रनको लक्ष्य तीन बलमै पूरा गर्दै जित हात पार्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको युएई १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमा समेटिएको थियो । उसका लागि मेहुव प्रणव कुलकर्णीले ३०, लावण्ड्या केनीले २५ तथा नेहा कुमारीले १९ रन बनाइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपालका लागि अनु कठायत र रिया शर्माले समान तीन–तीन विकेट लिए । तिर्सना विश्वकर्माले दुई तथा मनिषा उपाध्यायले एक विकेट हात पारिन् ।

१०१ रनको लक्ष्य पछ्याएको नेपालले मध्यम सुरुआत गरे पनि मध्य क्रम र पुछारका ब्याटर चल्न नसक्दा सामान्य लक्ष्यसमेत भेट्टाउन सकेन । अनु कठायतले २० रन बनाउँदा सना प्रविण र अलिशा कुमारी यादवले समान १७–१७ रनको योगदान दिए । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।

रन लिने क्रममा दुई व्याटर बिचको तालमेल नमिल्दा नेपालका चार खेलाडी रन आउट भएका थिए ।  अन्तिम ओभरमा जितको लागि नेपाललाई ७ रन चाहिएकोमा नेपालले ६ रन मात्र जोड्न सक्यो ।  युएईसँग पराजित भए पनि नेपाल एसिया कपमा छनोट भने भएको छ ।

अब नेपालले तेस्रो स्थानका लागि शनिबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?