Butwal Today

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ

३१ असार २०८३, बुधबार
अ+
अ-

लस एन्जलस । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

ती आमाले आफ्ना शिशुको मृत्यु खोपका कारण भएको दाबी गर्दै आएकी भए पनि अनुसन्धानपछि प्रहरीले उनीमाथि शिशुको श्वास अवरुद्ध गरी हत्या गरेको अभियोग लगाएको हो ।

प्रहरीका अनुसार २३ वर्षीया एन्ड्रिया शाले फ्लू, हेपाटाइटिस–ए र टिटानससहितका नियमित बाल खोप लगाएको आठ दिनपछि आफ्ना जुम्ल्याहा शिशुको मृत्यु भएको दाबी गरेकी थिइन् । उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत थिइन् । उक्त संस्थाको स्थापना तथा नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले मन्त्री बन्नुअघि गरेका थिए ।

अमेरिकाको उत्तरपश्चिमी इडाहो राज्यस्थित पेएट प्रहरी विभागले लामो र विस्तृत अनुसन्धानपछि शालाई पक्राउ गरी अभियोग दर्ता गरिएको जनाएको छ । प्रहरीले शिशुको मृत्यु प्राकृतिक नभई श्वास रोकी हत्या गरिएको निष्कर्ष निकालेको बताएको छ ।

मङ्गलबार भएको अदालतको सुनुवाइमा शाका कानुन व्यवसायी जोसेफ फिलिसेट्टीले उनीलाई ‘मायालु र जिम्मेवार आमा’ भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको चित्रण वास्तविकताभन्दा फरक रहेको बताए ।

मृत्युदण्डसम्मको सजाय हुन सक्ने अभियोग सामना गरिरहेकी शाले २० लाख अमेरिकी डलर बराबरको धरौटी रकम घटाइदिन आग्रह गरेकी थिइन् । पक्राउ पर्नुभन्दा केही दिनअघि जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउने आधारमा उनले यस्तो अनुरोध गरेकी थिइन् । तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै धरौटी अस्वीकार गरी पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको इडाहो स्टेट्सम्यानले जनाएको छ ।

सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुको मृत्यु भएपछि शाले आफूले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको बताउँदै सार्वजनिक रूपमा खोपकै कारण मृत्यु भएको दाबी गरेकी थिइन् ।

तर स्वास्थ्य विज्ञहरूले नियमित बाल खोपले श्वासप्रश्वास रोकिने वा अवरुद्ध हुने जोखिम बढाउँदैन भन्ने वैज्ञानिक प्रमाण रहेको दोहोर्‍याएका छन् । उनीहरूका अनुसार आनुवंशिक रूपमा समान नभएका जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाबाट मृत्यु भएको दाबी पनि वैज्ञानिक रूपमा अस्वाभाविक छ ।

खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आएका अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले यस घटनाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यस्तै, ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले पनि एएफपीको प्रतिक्रिया मागको जवाफ दिएको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?