Butwal Today

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे २ वर्ष कैद

३० असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ। अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले भ्रष्टाचार गरेको ठहर गर्दै पौडेललाई २ वर्ष कैदमा थप ६ महिना सजाय निर्धारण गरेको हो।

अदालतले पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको ठहरिएको १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसा बराबरको सम्पत्ति जफत गर्ने तथा सोही बराबरको जरिबाना तिर्नुपर्ने फैसला गरेको छ। साथै, अपराध पीडित संरक्षण ऐनअनुसार ५१ लाख २ हजार ८०९ रुपैयाँ ४९ पैसा क्षतिपूर्ति शुल्कसमेत तिर्नुपर्ने भएको छ। यस मुद्दामा उनका भाइ अनिल पौडेल पनि प्रतिवादी बनाइएका थिए। तर, अनिलको नाममा रहेका केही सम्पत्ति ऋण र अंशबण्डाबाट प्राप्त भएको देखिएको तथा सुनिलको अवैध आम्दानी प्रयोग भएको पर्याप्त प्रमाण नपुगेकाले ती सम्पत्ति जफत नगर्न अदालतले आदेश दिएको छ।

पौडेल यसअघि पेमेन्ट गेटवे भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भइसकेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरेको थियो। अदालतका अनुसार पौडेलको वैध आय २ करोड २१ लाख ५७ हजार ८० रुपैयाँ ९४ पैसा मात्रै देखिएको छ। तर, सोही अवधिमा उनको खर्च तथा लगानी १४ करोड ९७ लाख २७ हजार ३१८ रुपैयाँ ३८ पैसा पुगेको पाइएको छ। वैध आय र खर्चबीचको १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसाको स्रोत पुष्टि गर्न नसकेपछि उक्त रकमलाई गैरकानुनी आर्जन ठहर गरिएको हो।

फैसलामा पौडेलको सिंगापुरस्थित बैंक खातामा रहेको १ लाख ३५ हजार ३८२ अमेरिकी डलर पनि प्रमाणका रूपमा उल्लेख गरिएको छ। उनले उक्त खाता आफ्नो नभएको दाबी गरे पनि फरेन्सिक परीक्षण तथा अन्य प्रमाणका आधारमा रकम उनकै भएको अदालतले ठहर गरेको छ। विदेश भ्रमण र विभिन्न लगानीको स्रोतसमेत पुष्टि गर्न नसकेको अदालतको निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?