Butwal Today

उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण  

१९ असार २०८३, शुक्रबार
अ+
अ-

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ (१) माननीय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण तथा सम्मान गरिएको छ ।

क्षेत्र अन्तर्गत रहेका १८ वटा सामुदायिक विद्यालयबाट उत्कृष्ट एक जना विद्यार्थीलाई गरि १८ वटा ल्यापटप वितरण गरिएको हो ।

सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले विद्यार्थीको सफलतामा सबैभन्दा ठुलो भूमिका उनीहरूको आफ्नै मिहिनेत र तयारीको हुने बताए ।

उनले विद्यार्थीको सफलतामा ९९ प्रतिशत योगदान स्वयम् विद्यार्थीको अध्ययन, अनुशासन र परिश्रमको रहने तथा बाँकी आवश्यक सहयोग सरकार, अभिभावक र विद्यालयले गर्ने उल्लेख गर्दै सरकारले गुणस्तरीय शिक्षाका लागि आवश्यक वातावरण निर्माणमा निरन्तर सहयोग गर्ने बताए ।

सामुदायिक विद्यालयप्रति नकारात्मक धारणा बनाइने प्रवृत्तिको आलोचना गर्दै मन्त्री पाण्डेले सीमित स्रोतसाधन र अनेक चुनौतीका बिच पनि सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गरिरहेको उल्लेख गरे ।

लामो समयदेखि विद्यालयमा समर्पित भएर काम गरिरहेका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीको योगदान प्रशंसनीय रहेको उनको भनाइ थियो ।

उनले अहिले सञ्चालन गरिएको ल्यापटप वितरण कार्यक्रमलाई आगामी वर्षहरूमा शिक्षा, खेलकुद, सीप विकास, विभिन्न तालिम तथा लागू औषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रमसँग जोडेर अझ प्रभावकारी बनाइने जानकारी दिए ।

राजनीति र नेतृत्वमा भाषणभन्दा परिणाममुखी कार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले सकारात्मक सोच, स्पष्ट योजना र प्रभावकारी कार्यान्वयनबाट मात्रै समाज परिवर्तन सम्भव हुने बताए । युवालाई उमेरले मात्र नभई विचार, योजना र सृजनशील कार्यबाट युवा बन्न आग्रह गर्दै उनले राष्ट्र निर्माणमा योगदान दिने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लीलाराम माध्यमिक विद्यालयका प्रधानाध्यापक रूपकुमार रायमाझीले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विद्यार्थी स्वयं जागरूक हुनुपर्ने बताए ।

शिक्षक र अभिभावकले निरन्तर प्रयास गरे पनि त्यसको वास्तविक उपलब्धि विद्यार्थीको सिकाइ र नतिजाबाट मात्रै पुष्टि हुने उल्लेख गर्दै उनले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा थप उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे ।

सम्मानित विद्यार्थीमध्ये पूजा विश्वकर्माले ल्यापटप प्राप्त गर्नु आफ्ना लागि थप जिम्मेवारी र प्रेरणाको विषय भएको बताइन । उनले ल्यापटपलाई सामाजिक सञ्जालमा समय बिताउने साधनका रूपमा नभई अध्ययन, अनुसन्धान तथा शैक्षिक सामग्रीको प्रयोगमार्फत सिकाइलाई प्रभावकारी बनाउने माध्यमका रूपमा उपयोग गर्नुपर्ने धारणा राखिन ।

सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख हरिबहादुर विष्टले प्रत्यक्ष रूपमा विद्यार्थीलाई ल्यापटप र सम्मान प्रदान गर्ने कार्यक्रमले उनीहरूमा तत्काल सकारात्मक उत्प्रेरणा सिर्जना गर्ने बताए । नेपाल सरकारले सञ्चालन गर्ने विभिन्न छात्रवृत्ति कार्यक्रम महत्त्वपूर्ण भए पनि यस प्रकारको प्रत्यक्ष प्रोत्साहनले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ (१) अन्तर्गतका सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण गर्नुका साथै सम्मान गरिएको थियो । सम्मानित विद्यार्थीमध्ये करिब ५० प्रतिशत छात्रा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?