© 2026
नयाँदिल्ली । पूर्वी भारतको पश्चिम बङ्गालस्थित एक पेट्रोकेमिकल प्लान्टमा आज भएको आगलागीमा कम्तीमा २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आगलागी हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित प्लान्टको नेफ्था पाइपलाइनमा भएको थियो । पश्चिम बङ्गालको पूर्वा मेदिनीपुर जिल्लास्थित उक्त क्षेत्रमा तीव्र रूपमा आगो फैलिएको थियो । यो क्षेत्र प्यपिबतब बाट करिब १३० किलोमिटर दक्षिण पश्चिममा पर्छ ।
प्रहरीका अनुसार आगो नियन्त्रणका लागि १२ वटा दमकल परिचालन गरिएको थियो । घाइतेको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइतेमध्ये प्लान्टका कामदार तथा कम्तीमा दुई जना सुरक्षा गार्ड रहेका छन् ।
घटनास्थलबाट प्राप्त दृश्यमा जलिरहेको पाइपलाइनबाट बाक्लो कालो धुवाँ निस्किएको तथा अग्नि नियन्त्रकले पानीको फोहोरा प्रयोग गरी आगो नियन्त्रणमा लिएको देखिएको छ ।
नेफ्था इन्धन तथा विभिन्न रसायन उत्पादनमा प्रयोग हुने अत्यधिक ज्वलनशील पेट्रोलियम पदार्थ हो । आगलागीको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ । हल्दिया पेट्रोकेमिकल्सले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।