Butwal Today

लुम्बिनी–भुटान सिधा उडानको पहल 

१४ असार २०८३, आइतबार
अ+
अ-

भैरहवा । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी शनिबार नेपाल–भुटान सम्बन्धलाई थप उचाइमा पु¥याउने महत्त्वपूर्ण कूटनीतिक तथा धार्मिक गतिविधिको केन्द्र बनेको छ ।

भुटान सरकारले लुम्बिनीमा निर्माण गर्न लागेको भुटानी गुम्बाको शिलान्यासका अवसरमा नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबिच सम्पन्न द्विपक्षीय वार्ताले दुई देशबिचको पर्यटन, सांस्कृतिक आदानप्रदान र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

भुटानका गृहमन्त्री ल्योन्पे छिरिङको नेतृत्वमा आएको उच्चस्तरीय टोली र नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गणेश) नेतृत्वको नेपाली टोलीबिच लुम्बिनीमा भएको भेटवार्तामा पर्यटन प्रवर्द्धन, हवाई सम्पर्क विस्तार तथा नेपाली नागरिकलाई भुटान भ्रमणमा सहजता प्रदान गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार वार्तामा नेपालले विशेष गरी दुई महत्त्वपूर्ण प्रस्ताव अघि सारेको छ । पहिलो, भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबिच सिधा हवाई सेवा सञ्चालन गर्ने विषय तथा दोस्रो, नेपाली पर्यटकमाथि लाग्दै आएको दिगो विकास शुल्क (एसडीएफ) मा पुनर्विचार गर्ने विषय ।

पारो–लुम्बिनी–बोधगया धार्मिक पर्यटन सर्किटको प्रस्ताव
वार्ताका क्रममा नेपाली पक्षले भुटानको राष्ट्रिय वायुसेवा ड्रुक एअरलाई पारो–लुम्बिनी–बोधगया हवाई मार्ग सञ्चालन गर्न आग्रह गरेको छ । हाल ड्रुक एअरले पारो–काठमाडौँ तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको सन्दर्भमा भैरहवालाई समेत जोड्न सके बौद्ध धर्मावलम्बीहरूको धार्मिक यात्रामा ठूलो सहजता आउने नेपाली पक्षको भनाइ थियो ।

लुम्बिनी, भुटान र भारतको बोधगया विश्व बौद्ध समुदायका लागि अत्यन्त महत्त्वपूर्ण धार्मिक गन्तव्य भएकाले यी तीन क्षेत्रलाई हवाई मार्गबाट जोड्न सके दक्षिण एशियाको बौद्ध पर्यटनमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरिएको छ ।

नेपाल सरकारले विशेष गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारका लागि विभिन्न मुलुकसँग सहकार्य गरिरहेको अवस्थामा भुटानसँगको यस्तो हवाई सम्पर्कले लुम्बिनी केन्द्रित धार्मिक पर्यटनलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली पर्यटकलाई विशेष सहुलियत दिन आग्रह
द्विपक्षीय वार्ताको अर्को महत्त्वपूर्ण विषय भुटान सरकारले विदेशी पर्यटकबाट उठाउँदै आएको दिगो विकास शुल्क (सस्टेनेबल डेभलपमेन्ट फी–एसडीएफ) रहेको थियो ।

हाल भुटान भ्रमण गर्ने नेपाली नागरिकले समेत तेस्रो मुलुकका पर्यटकसरह प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ । नेपाली पक्षले नेपाल र भुटानबिचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई ध्यानमा राख्दै नेपाली पर्यटकका लागि विशेष व्यवस्था गर्न आग्रह गरेको छ ।

वार्तामा नेपालले भारत र बङ्गलादेशका नागरिकलाई दिइएको विशेष शुल्क व्यवस्थाजस्तै नेपाली नागरिकलाई पनि सहुलियत प्रदान गर्न पर्यटन मन्त्रीले अनुरोध गरेको राईले जानकारी दिए । नेपाली पक्षले यस व्यवस्थाले दुई देशबिचको जनस्तरीय सम्बन्ध अझ मजबुत हुने तथा धार्मिक पर्यटनको आदानप्रदान बढ्ने विश्वास व्यक्त गरेको छ ।

भुटानी पक्षले नेपालले उठाएका विषयलाई सकारात्मक रूपमा ग्रहण गरेको र यस सम्बन्धमा सरकारी तहमा थप अध्ययन तथा छलफल अघि बढाउने प्रतिबद्धता जनाएको निमित्त सदस्य सचिव राईले बताए ।

द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट लुम्बिनी क्षेत्रबाट निर्वाचित सांसद तौफिक अहमद खाँन र रूपन्देही–४ बाट निर्वाचित सांसद कन्हैया बनियाको सहभागिता रहेको थियो । यसै गरि भुटानका तर्फबाट नेपालका लागि भुटानका राजदूत मेजर जनरल भेत्सोप नामग्येल, भुटान सरकारका गृह सचिव लगायतको सहभागिता रहेको थियो ।

लुम्बिनीमा भुटानी गुम्बा निर्माणको शुभारम्भ
द्विपक्षीय वार्तासँगै शनिबार लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको औपचारिक शिलान्यास पनि गरिएको छ । कार्यक्रममा भुटानका धर्मगुरु उप महासंघराजा दोर्जे लोपेन, गृहमन्त्री ल्योन्पे छिरिङ तथा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज अधिकारीले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

शिलान्यासअघि भुटानी बौद्ध परम्पराअनुसार लामागुरुहरूले विशेष पूजा तथा धार्मिक अनुष्ठान सम्पन्न गरेका थिए । गृहमन्त्री छिरिङलाई लुम्बिनीमा लामागुरुहरूले परम्परागत स्वागत गरेका थिए ।

भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले भुटानका लागि यो दिन ऐतिहासिक महत्वको भएको बताईन ।

उनले भनिन, “लुम्बिनी परिसरमा नयाँ भुटानी मन्दिर निर्माण कार्य सुरु गर्नका लागि भूमि देवीको आशीर्वाद लिन हामी यहाँ उपस्थित भएका छौं । यो परियोजना केवल भवन निर्माण मात्र नभई हाम्रो आस्था, संस्कृति र बुद्धप्रतिको श्रद्धाको प्रतीक हो ।”

भुटान सरकार र लुम्बिनी विकास कोसबिच गत वर्ष गुम्बा निर्माण सम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । सोही समझदारीअनुसार चालु वर्षभित्र निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता कार्यान्वयन गर्दै शिलान्यास गरिएको हो ।

परियोजनाको प्रारम्भिक चरणअन्तर्गत सीमा पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ । अब मुख्य गुम्बा निर्माणको काम सुरु गरिनेछ र आगामी दुई वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रस्तावित गुम्बामा भुटानको मौलिक वास्तुकला, कला र बौद्ध सांस्कृतिक परम्परालाई समेटिने बताइएको छ । गुम्बा निर्माण सम्पन्न भएपछि लुम्बिनी भ्रमणमा आउने विश्वभरका तीर्थयात्री तथा पर्यटकहरूले भुटानी संस्कृति र आध्यात्मिक परम्पराको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।

भुटानका गृहमन्त्री छिरिङले नेपाल सरकारले लुम्बिनीमा गुम्बा निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै बुद्धको जन्मस्थलमा भुटानको आध्यात्मिक उपस्थितिलाई संस्थागत गर्ने अवसर प्राप्त भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?