© 2026
गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३//०८४ का लागि रु ५५ करोड ५६ लाख ४४ हजारको बजेट सार्वजनिक गरेको छ । १९औँ गाउँ सभामा प्रस्तुत बजेटमा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।
“सबल, सक्षम उत्थानशील स्थानीय सरकार ः समृद्ध र समुन्नत गुल्मी दरबार” भन्ने सोचका साथ ल्याइएको बजेटले सुशासन, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार विकासमार्फत गाउँपालिकाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने लक्ष्य राखेको छ ।
उपाध्यक्ष तारा थापा ढेंगाद्वारा प्रस्तुते कुल बजेटमा चालुतर्फ रु ३६ करोड ११ लाख ६८ हजार र पुँजीगततर्फ रु १९ करोड ४४ लाख ७६ हजार विनियोजन गरिएको छ ।
बजेटले कृषि तथा पशुपालन प्रवर्द्धन, भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवा विस्तार, खानेपानी तथा सरसफाइ, विपद् व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, स्वरोजगार तथा रोजगारी सिर्जना र सामाजिक समावेशितालाई प्रमुख प्राथमिकताका साथ समेटेको छ ।
बजेटमा शिक्षा क्षेत्रमा डिजिटल सिकाइ, छात्रवृत्ति, विद्यालय पूर्वाधार सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने भएका छन् । त्यसै गरी स्वास्थ्य क्षेत्रमा आधारभूत अस्पतालमा एमबीबीएस चिकित्सक सहित २४ सै घण्टा सेवा, निःशुल्क औषधि वितरण, ग्रामीण अल्ट्रासाउण्ड सेवा तथा दीर्घ रोगीलाई उपचार सहयोग उपलब्ध गराइने भएको छ ।
त्यसै गरी कृषि क्षेत्रमा रु ५० लाखको गुल्मी दरबार कृषि परियोजना, पशुपालन प्रवर्द्धन, बाख्रा स्रोत केन्द्र स्थापना तथा सिँचाइमा विद्युत् महसुल अनुदानको व्यवस्था गरिएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रु तीन करोड १५ लाख विनियोजन गरिएको छ भने विभिन्न सडक स्तरोन्नति तथा वडा कार्यालय निर्माणका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
महिला उद्यमशीलता, ज्येष्ठ नागरिक सम्मान, बालमैत्री स्थानीय शासन, विपन्न नागरिक सहयोग तथा हिंसापीडितका लागि सुरक्षित गृह सञ्चालन लगायत सामाजिक सुरक्षाका कार्यक्रमलाई समेत बजेटले उच्च प्राथमिकतामा राखेको छ ।
प्रस्तुत बजेटको प्रभावकारी कार्यान्वयनबाट उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग भई नागरिकको जीवनस्तरमा सुधार आउने तथा समृद्ध, आत्मनिर्भर र सुशासित गुल्मी दरबार निर्माणमा टेवा पुग्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताए ।
अध्यक्ष थापाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम छलफल तथा स्वीकृतिका लागि सभामा पेस गरेका थिए । सभामा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले आर्थिक विधेयक र विनियोजन विधेयक समेत पेस गरेकी थिइन् ।