© 2026
पाल्पा । कुनै समय इँटा भट्टामा पसिना बगाउने मजदुरका रूपमा परिचित श्रीराम भण्डारी अहिले पाल्पाका सफल व्यावसायिक कृषकका रूपमा चिनिन थालेका छन् ।
कहिले घर–घरमा आइसक्रिम बेच्ने, कहिले निजी विद्यालयको क्यान्टिन चलाउने र कहिले रोजगारीको खोजीमा खाडी मुलुक पुग्ने भण्डारीको जीवनयात्राले अहिले नयाँ मोड लिएको छ । आज उनको परिचय कुनै मजदुर वा वैदेशिक रोजगारबाट फर्किएको व्यक्तिको मात्र होइन, सफल केरा कृषकको रूपमा स्थापित भएको छ ।
पाल्पाको रामपुर नगरपालिका–६ राङभाङ निवासी श्रीराम भण्डारी (सालिकराम) ले व्यावसायिक केरा खेतीमार्फत आफ्नो जीवन मात्र परिवर्तन गरेका छैनन्, स्थानीय कृषकहरूलाई समेत प्रेरणा दिएका छन् । उनको बारीमा यति बेला लहलहाएका केराका बोटले जो–कसैको ध्यान तान्ने गरेका छन् ।
भण्डारीले हाल करिब ५० रोपनी क्षेत्रफलमा झापाली मालभोग, जिनाइन तथा स्थानीय उन्नत जातका केराको खेती गरेका छन् । अधिकांश बोटमा सयभन्दा बढी कोसा लागेका छन् भने पहिलो चरणको उत्पादन बजारमा पठाउने तयारी भइरहेको छ ।
“कुनै समय म इँटा भट्टामा काम गर्थेँ, गर्मीमा आइसक्रिम बेच्थेँ,” भण्डारी सम्झन्छन्, “आज यही कृषिले मलाई नयाँ पहिचान दिएको छ । मेहनत गरे कृषि पनि राम्रो आम्दानीको आधार बन्न सक्छ भन्ने अनुभव मैले गरेको छु ।” उनको जीवनमा धेरै उतारचढाव आए ।
रामपुरस्थित एक निजी विद्यालयमा क्यान्टिन सञ्चालन गर्दै परिवार चलाइरहेका बेला स्थानीय निर्वाचनपछि विभिन्न कारणले त्यो व्यवसाय छोड्नुप¥यो । त्यसपछि जीविकोपार्जनका लागि उनी करिब एक दशक खाडी मुलुक पुगे । वैदेशिक रोजगारबाट फर्किएपछि कामको सिलसिलामा चितवन पुगेका भण्डारी त्यहाँको व्यावसायिक केरा खेतीबाट प्रभावित भए ।
चितवनका किसानहरूले केराबाट राम्रो आम्दानी गरिरहेको देखेपछि उनले आफ्नै गाउँमा पनि त्यस्तो सम्भावना खोज्न थाले । धेरैले रामपुर क्षेत्रमा यति ठुलो परिमाणमा केरा खेती सफल नहुने अनुमान गरेका थिए । परिवारभित्र समेत लगानी डुब्ने चिन्ता थियो ।
“सुरुमा मलाई पनि डर लाग्थ्यो,” उनकी श्रीमती खिमा भण्डारी भन्छिन्, “यति ठुलो लगानी गरेर केरा लगाउँदा सफल भइन्छ कि हुँदैन भन्ने चिन्ता थियो । तर अहिले बारी हेर्दा सबै मेहनत सफल भएको महसुस हुन्छ ।”
भण्डारीले पहिलो चरणमा एक रोपनी क्षेत्रफलमा ८७ वटा बिरुवा रोपेका थिए । राम्रो व्यवस्थापन, गुणस्तरीय बिरुवाको छनोट र प्राविधिक सुझावको पालना गरेपछि खेती विस्तार गर्दै अहिले ठुलो क्षेत्रफलमा केरा उत्पादन गरिरहेका छन् ।
स्थानीय अगुवा कृषक तथा रामपुर नगरपालिकाका पूर्व प्रवक्ता हुमनाथ न्यौपानेका अनुसार रामपुर क्षेत्रमा विगतमा पनि केरा खेतीको प्रयास भएको थियो । तर प्राविधिक कमजोरी र गुणस्तरीय बिरुवाको अभावले धेरै किसान सफल हुन सकेनन् । “भण्डारीले बिरुवाको छनोटदेखि व्यवस्थापनसम्म विशेष ध्यान दिएका छन्,” न्यौपाने भन्छन्, “त्यसैले उनले सफलता हासिल गर्न सकेका हुन् ।”
रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण गैरे पनि भण्डारीको सफलतामा प्राविधिक सहयोगको महत्त्वपूर्ण भूमिका रहेको बताउँछन् । उनका अनुसार सुरुदेखि नै नियमित प्राविधिक परामर्श, रोग व्यवस्थापन र खेतीको वैज्ञानिक पद्धति अपनाइएकाले यो खेती सफल बनेको हो ।
“उहाँको खेती अहिले रामपुरको मात्र होइन, पाल्पा जिल्लाकै नमुना व्यावसायिक केरा खेतीका रूपमा स्थापित हुँदै गएको छ,” गैरेले भने ।
केरा खेतीसँगै भण्डारीले पशुपालन र अन्य बाली उत्पादनलाई पनि निरन्तरता दिएका छन्। तर उनको परिचय भने केरा खेतीकै कारण स्थापित भएको छ । उत्पादन राम्रो भएपछि स्थानीय किसानहरू पनि व्यावसायिक केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
भण्डारी भन्छन्, “मैले पाएको सफलताले अरू किसानलाई पनि हौसला दिएको छ । गाउँका धेरै साथीहरू अहिले केरा खेती सुरु गर्ने तयारीमा छन् । कृषि छोडेर विदेश जाने मात्र विकल्प होइन भन्ने सन्देश दिन सकेकोमा खुसी लागेको छ ।”
कहिले मजदुरी, कहिले वैदेशिक रोजगारी र कहिले साना व्यवसाय गर्दै जीवन गुजार्न बाध्य भएका श्रीराम भण्डारी आज आफ्नै माटोमा पसिना बगाएर सफलताको कथा लेखिरहेका छन् । उनको जीवनयात्राले कृषि क्षेत्रमा मेहनत, धैर्यता र सही व्यवस्थापन भए सम्भावनाको ढोका खुल्ने सन्देश दिएको छ ।